सुप्रिम सहकारी ठगी प्रकरणमा पूरक अभियोग लागेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध थुनछेक बहस रुपन्देही जिल्ला अदालतमा जारी छ। न्यायाधीश प्रह्लाद कुमार योगीको इजलासमा रवि लामिछाने पक्षका कानुन व्यवसायीले बहस गरिरहेका छन्।
रुपन्देही जिल्ला अदालतका रजिस्ट्रार यज्ञमूर्ति ज्ञवालीका अनुसार रविको पक्षबाट ८ जना कानुन व्यवसायीले बहसका लागि नाम टिपाएकोमा हालसम्म दुई जनाले मात्र बहस गरेका छन्। प्रतिवादी पक्षको बहस सकिएपछि वादी र प्रतिवादी दुवै पक्षका कानुन व्यवसायीले जवाफी बहस गर्नेछन्।
शुक्रबार इजलासमा जाहेरवालाको तर्फबाट वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले बहस गरेका थिए। उनले रवि लगायतका प्रतिवादीहरूले बचतकर्ताहरूको दुःख गरेर जम्मा गरेको रकम दुरुपयोग गरेको आरोप लगाए। साथै, बचतकर्ताको रकम मिलेर खाने उद्देश्यले प्रतिवादीहरूको भूमिकामा संलग्नता देखिएको उनको जिकिर थियो।
यसअघि बिहीबार ८ जना सरकारी वकिल र जाहेरवालाको तर्फबाट वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले पनि बहस गरेका थिए।
सुप्रिम सहकारी ठगी प्रकरणमा जोडिएका लामिछानेसहितका २२ जनाविरुद्ध सहकारी ठगी र सङ्गठित अपराधको मुद्दा गत आइतबार रुपन्देही जिल्ला अदालतमा दर्ता भएको हो। यस मुद्दामा पूर्वगृहमन्त्री रवि लामिछाने, पूर्वडीआइजी छविलाल जोशी, सहकारीका संरक्षक गितेन्द्रबाबु (जीबी) राईलगायतका व्यक्तिहरूलाई प्रतिवादी बनाइएको छ।
रवि लामिछाने बुधबार आफैं अदालतमा हाजिर भएका थिए। सोही दिन बयान सकेर बिहीबारदेखि थुनछेक बहस सुरु भएको हो। थुनछेक बहस शुक्रबार साँझसम्म सकिने या नसकिने यकिन भने गरिएको छैन।