संघीय सरकारमा रहेका तीन मन्त्रीलाई पर्सावासीले विकासप्रति कम चासो दिएको भन्दै प्रश्न गरेका छन्। शुक्रबार आम जनता पार्टी (आजपा) ले वीरगञ्जको घण्टाघरमा आयोजना गरेको कार्यक्रममा सहभागीहरूले पर्साबाट संघीय मन्त्री भएकाहरूको विकासप्रति उदासीनता रहेको आरोप लगाएका हुन्।
पर्साबाट नेकपा एमालेका नेता राजकुमार गुप्ता संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री, नेपाली कांग्रेसका अजय चौरसिया कानुनमन्त्री र जनता समाजवादी पार्टीका प्रदीप यादव खानेपानीमन्त्री रहेका छन्। तर, तीन जना संघीय मन्त्री भएका पर्सामा विकासका लागि काम नगरेको भन्दै स्थानीयहरूले गुनासो गरेका छन्।
आजपा मधेस प्रदेश कमिटीका अध्यक्ष उमेश कुशवाहाले पर्साबाट तीन मन्त्री संघीय सरकारमा रहे पनि वीरगञ्जको विकासका लागि के काम गरे भन्नेबारे सार्वजनिक गर्न आग्रह गरे। उनले वीरगञ्जलाई समृद्ध बनाउन ध्यान दिनुपर्नेमा उल्टै उजाड बनाइएको आरोप लगाए।
कुशवाहाका अनुसार वीरगञ्जसहित तराई–मधेशमा खानेपानीको समस्या दिनप्रतिदिन बढिरहेको छ। उनले भने, “पर्साबाट खानेपानीमन्त्री हुँदा पनि यहाँको खानेपानी समस्या समाधानमा कुनै चासो देखिएको छैन।”
आजपा केन्द्रीय सदस्य तथा पर्सा इन्चार्ज लखिन्द्र साहले संघीय मन्त्रीहरूले पर्सावासीलाई झुटा आश्वासन दिने बाहेक अरू केही नगरेको बताए। उनले नारायणी अस्पताललाई मेडिकल कलेज बनाउने प्रयास नगरेको, नारायणी रंगशालाको जीर्णोद्धार कहिले हुने भन्ने अनिश्चित रहेको, र ठाकुरराम बहुमुखी क्याम्पसलाई विश्वविद्यालय बनाउने विषयमा कुनै पहल नभएको भन्दै प्रश्न गरे।
“वीरगञ्जको चिनीमिल कहिले सञ्चालनमा आउने? भद्रगोल बस्तीलाई आधुनिक पूर्वाधारसँग कहिले जोडिने? समृद्ध वीरगञ्ज उजाड किन बनाइयो?” साहले सरकार र मन्त्रीहरूको ध्यानाकर्षण गराउँदै भने।
कार्यक्रममा सहभागीहरूले वीरगञ्जलाई देशको आर्थिक राजधानी बनाउनुपर्ने माग गर्दै संघीय मन्त्रीहरूको विकासप्रतिको उदासीनतालाई खेद प्रकट गरेका थिए।