नेपाल कम्युनिस्ट पार्टीका महासचिव बिप्लव सी ले माओवादीले जनताबाट उठेको तागत छोडेर ठूलो गल्ती गरेको बताएका छन्।
पत्रकार सुर्दशनराज पाण्डे र जनयुद्धका शहीद सीजनराज पाण्डेको स्मृतिमा प्रकाशित पिता-पुत्र स्मृतिग्रन्थ को बीरगञ्जमा लोकार्पण गर्दै महासचिव सी ले यस्तो विचार राखेका हुन्।
कार्यक्रममा बोल्दै उनले आफूहरू जनताबाट टुटेको कडीलाई जोड्नका निम्ति पुनः जनतामा फर्कने निर्णयमा पुगेको बताए। पत्रकार सुर्दशनराज पाण्डेले जनपक्षीय पत्रकारिता गरेको स्मरण गर्दै महासचिव सी ले स्वर्गीय पाण्डेका आदर्श र जनपक्षधरतालाई अनुसरण गर्नुपर्ने धारणा व्यक्त गरे।
समाजवाद नै संकटको समाधान
महासचिव सी ले वर्तमान राजनीतिक संकट समाधानका लागि समाजवाद उत्तम बाटो भएको बताए। उनले शान्तिका लागि समाजवाद, समृद्धिका लागि समाजवाद, र विकास तथा प्रगतिका लागि समाजवाद नै उत्तम विकल्प भएको स्पष्ट पारे।
उनले आत्मनिर्भरताको अभावमा देशमा समृद्धि आउन नसक्ने भन्दै राजनीतिक दलका नेताहरू आत्मनिर्भर हुनुपर्नेमा जोड दिए। "जबसम्म नेतृत्व उत्पादनसँग जोडिँदैन, तबसम्म उत्पादन शून्य र उपभोगमा विलासिताको अवस्था रहन्छ। यस्तो अवस्थामा समृद्धि सम्भव छैन," उनले भने।
स्व. सुर्दशनराजको आदर्श अनुसरण गर्नुपर्ने
कार्यक्रममा मधेश विश्वविद्यालयका उपकुलपति प्रा. डा. दीपक शाक्यले राजनीतिक नेतृत्व नै रूपान्तरणको प्रमुख कारक भएकोले राजनीति स्वच्छ र संग्लो हुनुपर्ने बताए। साथै, उनले स्वर्गीय पत्रकार सुर्दशनराज पाण्डेको स्मृतिमा आर्थिक अवस्था कमजोर भएका जेहेन्दार विद्यार्थीलाई नेपाल पत्रकार महासंघको सिफारिसमा निःशुल्क अध्ययनको व्यवस्था गरिने घोषणा गरे।
नेपाल पत्रकार महासंघका केन्द्रीय लेखा समितिका संयोजक के.सी. लामिछानेले स्वर्गीय पाण्डेले राज्य र सत्ताको विपक्षमा जनपक्षीय पत्रकारिता गरेको स्मरण गर्दै, उनले कहिल्यै गलतसँग सम्झौता नगरेको बताए।
कार्यक्रममा नेपाल पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष श्याम बन्जारा, भौतिकवादी समाजका वैधनाथ ठाकुर, पत्रकार कविता खड्का, स्व. सुर्दशनराज पाण्डेका भाइ श्यामराज पाण्डे, नेकपा माओवादी मधेशका इन्चार्ज अनिल सी लगायतले पनि स्वर्गीय पाण्डे र जनयुद्धका शहीद सीजनराज पाण्डेको योगदानबारे धारणा व्यक्त गरे।
कार्यक्रमको सञ्चालन प्रकाश सी ले गरेका थिए।