ताप्लेजुङको फुङलिङ नगरपालिका–११ पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विरोधमा भएको प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा चार जना प्रदर्शनकारी घाइते भएका छन्।
प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाउँदा चार जना प्रदर्शनकारी घाइते भएका हुन्। तीमध्ये तीन जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ। प्रहरी र प्रदर्शनकारीबीचको झडपमा केही सुरक्षाकर्मी पनि घाइते भएका छन्।
प्रहरीको गोलीले तीन गम्भीर घाइते
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका डीएसपी रवि रावलका अनुसार झडपमा यामबहादुर लिम्बू, सगुन लावती, धर्मान पालुङ्वा र मंगल लावती घाइते भएका छन्। यामबहादुर, सगुन, र धर्मानलाई प्रहरीले चलाएको गोली लागेको हो। तीनै जनाको अवस्था गम्भीर रहेकोले थप उपचारका लागि नोवेल मेडिकल कलेज, विराटनगर पठाइएको छ। मंगल लावतीको भने अवस्था सामान्य छ।
प्रहरी तर्फ १२ जना घाइते भएको डीएसपी रावलले जानकारी दिएका छन्।
केबलकार निर्माणको विरोधमा आन्दोलन
पाथीभरा क्षेत्रमा निर्माणाधीन केबलकारको विरोधमा रहेको नो केबलकार समूह ले आइतबारदेखि आन्दोलन गर्ने तयारी गरेको थियो। आन्दोलनलाई रोक्न नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको थियो।
शनिबार बेलुकी करिब ६ बजे बलुडाडा क्षेत्रमा प्रहरी पुगेपछि आन्दोलनकारीले ढुंगा प्रहार गरेका थिए। त्यसपछि प्रहरीले प्रदर्शनलाई रोक्न गोली चलाएको हो।
ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले आन्दोलनकारीले बलुडाडाबाट गुलेली र ढुंगा प्रहार गरेपछि सुरक्षाकर्मीले गोली चलाउनुपरेको बताए।
पहिचान संरक्षणको माग
पाथीभरा क्षेत्रको पहिचान संरक्षणका लागि भन्दै नो केबलकार समूह र पहिचान पक्षधरहरूले केबलकार निर्माणको विरोध गर्दै आएका छन्। निर्माण कम्पनीले मंगलबारबाट केबलकारको काम सुरु गरेपछि तनावको अवस्था उत्पन्न भएको हो।
किराँत याक्थुङ चुम्लुङकी महासचिव निरन्ती तुम्बापोले शान्तिपूर्ण आन्दोलनमा राज्यले मान्छे ताकेर गोली चलाएको आरोप लगाउँदै सुरक्षाकर्मीको ज्याजति भएको बताइन्। नागरिक समाज र विभिन्न राजनीतिक दलका नेताहरूले पनि प्रहरीको ज्याजतिको विरोध गरेका छन्।
शनिबार दिउँसोको झडपमा प्रहरीले १२ सेल अश्रुग्यास प्रहार गरेको थियो। त्यस क्रममा पनि दुवै पक्षका केही व्यक्ति घाइते भएका थिए।
थप आन्दोलनको तयारी
नो केबलकार समूहले आइतबारबाट थप आन्दोलन गर्ने तयारी गरेको जनाएको छ। प्रदर्शनकारीले पाथीभरा क्षेत्रको पहिचान र सांस्कृतिक महत्वलाई जोगाउन सरकारलाई आग्रह गरेका छन्।