हिउँद सुक्खा हुने क्रममा देशका विभिन्न स्थानमा आगलागीका घटना बढेका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्यांकअनुसार २४ घण्टामा १५ जिल्लामा आगलागीका घटना भएका छन् भने तीन जिल्लामा डढेलो लागेको रेकर्ड छ।
तीन जिल्लामा डढेलो फैलिँदै
सोलुखुम्बु, भोजपुर र काभ्रेमा डढेलो लागेको पुष्टि भएको छ।
काभ्रेको बेथानचोक गाउँपालिका–३ को नारायणस्थान सामुदायिक वन र जनजागृति सामुदायिक वन तथा वडा नम्बर ५ को चिसापानी सामुदायिक वनमा लागेको डढेलो फैलिँदै गएको छ। खानीखोलाको डढेलो भने हेलिकोप्टरको सहायतामा नियन्त्रणमा ल्याइएको थियो।
भोजपुर नगरपालिका–३ को भालुखोप सामुदायिक वनमा लागेको आगो निभाउने प्रयास जारी छ।
सोलुखुम्बुको सोलु दूधकुण्ड नगरपालिका–४ को सुर्केस्थित निजी जंगलमा लागेको आगो भने नगर प्रहरी, विमानस्थल सुरक्षा गार्ड फाप्लु र स्थानीयको प्रयासमा निभाइएको छ।
१५ जिल्लामा आगलागीका घटना
प्राधिकरणको रेकर्डअनुसार बाजुरा, सल्यान, दैलेख, पाल्पा, रुपन्देही, बागलुङ, काभ्रे, मकवानपुर, पर्सा, धनुषा, सिरहा, सुनसरी, सोलुखुम्बु, तेह्रथुम, र मोरङमा आगलागीका घटना भएका छन्। आगलागीबाट मानवीय क्षति नभए पनि वनजंगललाई ठूलो क्षति पुगेको छ।
डढेलोको समय र कारण
डढेलो खासगरी गर्मी र सुक्खा मौसममा बढी हुने गर्दछ। प्राधिकरणका उपसचिव सुन्दरप्रसाद शर्माका अनुसार, ७४ प्रतिशत डढेलो मध्य फागुनदेखि मध्य वैशाखको बीचमा लाग्ने गरेको छ। यस्तै, ५१ प्रतिशत डढेलो चैतदेखि वैशाखको मध्यसम्म हुने गर्दछ।
डढेलो प्रायः मंसिरदेखि सुरु भएर वैशाख महिनाको मध्यसम्म चरम अवस्थामा पुग्छ। मनसुन सुरु भएपछि डढेलोका घटना कम हुने गरेको छ।
प्रभावकारी नियन्त्रणको अभाव
नेपालमा वार्षिक सरदर ३ हजार ९८ वटा डढेलोका घटना हुने र त्यसबाट १ लाख ७२ हजार ४० हेक्टर वनजंगल मासिने अनुमान छ। लामो समयसम्म पानी नपर्दा सुक्खा हुने र असावधानीका कारण डढेलोको घटना बढेको पाइएको छ।
यस वर्ष हिउँद सुक्खा हुने र प्रिमनसुन सिजनमा गर्मी हुने अनुमान गरिएकोले आगलागीका घटना अझै बढ्न सक्ने सम्भावना रहेको विज्ञहरूले बताएका छन्।