नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पक्षधर विद्यार्थी नेताहरुले मधेसमा पुनः निर्वाचन हुनुपर्ने माग गरेका छन्।
अखिल क्रान्तिकारीको शनिबार भएको निर्वाचनको मतगणनाको क्रममा मधेशको मतपत्रमा विवाद देखिएपछि पुनः मतदानको माग गरिएको हो। मधेशमा १५९ मत खस्दा १५४ मत देखिएपछि विवाद उत्पन्न भएको थियो। मतगणना प्रतिनिधिहरू बीच विवाद भएपछि गणना स्थगित गरिएको छ।
प्रचण्ड पक्षबाट उपमहासचिवमा उम्मेदवारी दिएका कुन्दन महतोले पुनः निर्वाचन नभएमा मतपरिणाम अस्वीकार गर्ने बताएका छन्। महतोले भने, "लोकतन्त्रमा पाँच मतको ठूलो महत्व छ। हामीले फेरि मतदानको माग गरेका छौं।"
महतोका अनुसार, मधेशमा पुनः मतदान नगरी मतपरिणाम घोषणा गरिए भने त्यसको बहिष्कार गरिनेछ। अर्को पक्षले भने पुनः मतदान सम्भव नहुने अडान लिएको छ। उपमहासचिव जनार्दन शर्मा निकट विद्यार्थी नेता क्षितिज सापकोटाले फेरि मतदान गर्न सम्भव नभएको बताए। संस्थापन पक्षले मधेशको मतगणनामा मतपत्रमा पानी खन्याएको आरोप लगाएको छ।
मधेशमा अध्यक्षका उम्मेदवार उपेदश यादवको पक्षमा अन्य उम्मेदवारको तुलनामा बढी मत खसेको थियो। यादवले ७० मत प्राप्त गरे भने अन्य उम्मेदवार विजयप्रकाश शर्मा सापकोटाले ४१, हेमन्त राईले ४० र सुदिन पौडेलले १ मत प्राप्त गरेका छन्।
सापकोटा पार्टी अध्यक्ष प्रचण्ड पक्षधरका हुन्। राई उपमहासचिव जनार्दन शर्मा निकट छन्। यादव उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पक्षधर हुन्। अखिल क्रान्तिकारीको निर्वाचनमा तीन प्यानल प्रतिस्पर्धामा थिए, तर पौडेलको प्यानल बन्न सकेन। पौडेल उपमहासचिव वर्षमान पुन निकट छन्।
निर्वाचन आयोगका प्रमुख मुक्ति प्रधानले भने विवादका विषयमा सल्लाह भइरहेको बताए।