१. पोलिसिस्टिक ओभरियन सिन्टम (पिसिओएस) कस्तो समस्या हो ?
पोलिसिस्टिक ओभरियन सिन्टमको समस्या हरेक ६ जना महिला मध्ये १ जनालाई देखिन्छ । यो समस्याले गर्दा निःसन्तानको समस्या हुन्छ । महिलाको पाठेघरको बनावटलाई अध्ययन गर्दा पाठेघरमा २ वटा ट्युब हुन्छ । ट्युबको दुबैपट्टी छेउमा डिम्ब हुन्छ । डिम्बाशयको वरिपरी पानीको फोकाहरु धेरै आउनुलाई नै पोलिसिस्टिक ओभरियन सिन्टम भनिन्छ । यो रोग मात्र नभएर अन्य समस्याको लक्षण पनि महिलामा देखिन सक्छ ।
२. पिसिओएसको समस्या भएको कसरी पत्ता लगाउन सकिन्छ ?
प्रजनन् उमेरका महिलाहरुमा पिसिओएसको समस्या पाइन्छ । बढी गरेर ३० वर्षदेखि ४५ वर्षको उमेरसम्म कुनै पनि महिलालाई देखिन सक्छ । यसका लक्षणहरु विवाहित र अविवाहितलाई फरक देखिन्छ । अविवाहित महिलाहरु पिसिओएसका समस्या भएर आएका हुदैनन् । उनीहरु अनियमित महिनावारी भएर, ६ महिनादेखि महिनावारी रोकिएको समस्या लिएर जाँच गर्न आएका हुन्छन् । विवाहित महिलाहरु बच्चा नभएको समस्या लिएर आएका हुन्छन् । यस्ता बिरामीहरुलाई भिडियो एक्स–रे गरेपछि मात्र पिसिओएस भएको थाहा हुन्छ ।
३. पिसिओएसका कस्ता लक्षणहरु देखा पर्छ ?
अनियमित महिनावारी हुने, बच्चा नबस्ने, महिनावारी हुदाँ धेरै रगत लामो समयसम्म बग्ने र कसै कसैलाई कम रगत बग्ने जस्तो हुन्छ । तर लामो समयसम्म रगत जाने हुन्छ । घाँटीको पछाडी कालो दाग हुने हुन्छ । अनावश्यक रुपमा धेरै मोटाउने र कोही धेरै दुब्लाउने पनि हुन्छ । अनुहारमा धेरै डण्डीफोर आउने, शरीरको विभिन्न भागमा रौंहरु उम्रिने पनि हुन्छ ।
४. पिसिओएस समस्याको उपचार कसरी गर्न सकिन्छ ?
महिलाहरुको शरीरमा हुने हर्मोनको गडबढीको कारण पिसिओएस हुने गर्छ । हर्मोनलाई सन्तुलन गर्नु नै पहिलो उपचार हो । औषधीको रुपमा ओसिपी पिल्स भन्ने हर्मोन नै दिन्छौं । पिसिओएस भएका महिलाहरुको हर्मोनको गढबडीले हुने भएकोले कतिपय औषधी खाउन्जेल मात्र निको हुन्छ । नखादाँ पुनः समस्या आएको हुन्छ । कुन समस्याले गर्दा भएको हो पहिचान गरेर उपचार गर्ने गरिन्छ । डाइबिटिज रोगीहरुले खाने मेट फरमिन औषधी पनि पिसिओएसका समस्या भएका बिरामीहरुलाई दिने गर्छौै ।
५. पिसिओएसको उपचार सुरु गरेको कति समय पछि बच्चा हुन सक्छ ?
पिसिओएसका समस्या भएका महिलाहरुले मोटोपन छ भने खानपिनमा ध्यान दिनुपर्छ । नियमित व्यायम गर्नुपर्छ । जीवनशैलीमा सुधार गर्नुपर्छ । महिनावारी नियमित हुनु पर्छ । औषधी खान सुरु गरेको ६ महिना वा एक वर्ष भित्रमा बच्चा बस्ने सम्भावना धेरै हुन्छ ।
६. पिसिओएसको समस्याबाट बच्न के गर्नुपर्छ ?
नियमित व्यायमहरु गर्ने, बाहिरका जंकफूडहरु नखाने, हर्मोनलाई सन्तुलन राख्नु पर्छ । व्यायम गर्न जिम नै जानु पर्छ भन्ने छैन । योगा, पौडी, साइकल पनि चलाउन सकिन्छ । दुई पटक दालभात खाने बानी छ भने एक पटक मात्र खाने गर्नुपर्छ । कम कार्बोहाइड्रेट भएको खानेकुराहरु खाने, धुम्रपान, मदिरा, फ्रिजमा राखेको पेय पदार्थहरु खानु हुदैन । पोलिसिस्टिक ओभरियन सिन्टमको समयमा नै उपचार गर्दा बच्चा हुन सक्छ ।
७. महिलामा पोलिसिस्टिक ओभरियन सिन्टम देखिनुको कारण के हो ?
हर्मोनल गडबढीको कारण डिम्बाशयमा पानीको फोका हुन्छ । डिम्बाशयमा पानीको फोका आउनुको कारण नियमित व्ययाम नगर्दा, जंकफूडहरु बढी खाने, तनाब बढी हुनु, स्वस्थ्य खानपिन नखाँदा महिलाहरुमा पोलिसिस्टिक ओभरियन सिन्टमको समस्या देखिएको हो ।
८.अन्त्यमा के सुझाव दिन चाहनु हुन्छ ?
किशोरावस्थादेखि नै महिलाहरुले नियमित व्यायम गर्नुपर्छ । स्वस्थ्य सन्तुलित खाना खानु पर्छ । जंकफूड कम खानुपर्छ । हर्मोनलाई सन्तुलन बनाई राख्नु पर्छ । विवाह नगरेको महिलाहरुलाई महिनावारी अनियमित हुनुको कारण हुन्छ । महिनावारी अनियमित भयो भने समयमा नै अस्पतालमा आएर भिडियो एक्स–रे गरेपछि यो रोग पत्ता लगाउने हो । बाहिरबाट कुनै लक्षण देखेर पत्ता लगाउन सकिदैन । विवाहित महिलामा सन्तान हुन सकेको छैन भने समयमा नै डक्टरसंग जाँच गराई भिडियो एक्स–रे गराएर डाइनोसिस् भयो भने उसको बच्चा बस्ने सम्भावना प्रवल हुन्छ ।