बाल्यकालको बारेमा बताइदिनुस न् ?
आमाबुबा शिक्षित भएकोले बाल्यकालमा कुनै पनि दुःख भोग्नु परेन । परिवारमा छोरी भएको महशुस कहिले पनि गर्न पाइनन् । पढाइमा राम्रो भएकोले मलाई पढाईमा नै ध्यान थियो । पढाई बाहेक कुनै काममा पनि परिवारले दवाब दिएनन् । छोरा सरह सबै सुविधा पाए । विवाह भए पनि धेरै पढेर भविष्यमा सामाजिक सेवा गर्ने मेरो इच्छा थियो ।
माइती र घरमा के फरक पाउनु भयो ?
माइत र घरमा धेरैको फरक हुन्छ । माइतमाभन्दा घरमा परिवारको सोच अर्कै हुन्छ । कम उमेरमा विवाह भएको थियो । मेरो पढ्ने उमेर थियो । पढ्नमा पनि निकै अब्बल थिए । माईतमा हुदाँ धेरै राम्रो पढाइ भएकाले बुबाले जहिले पनि राम्रोसंग पढ, ठूलो मानिस बन्नुपर्छ, भन्नुहुन्थ्यो । सानो उमेरमा नै भएकाले त्यो अवसर मैले पाइन । विवाह भएपछि मैले पढेर केही गर्न सकिन भन्ने कुरा मनमा थियो । विवाह पछि फूर्सदको समयमा किताब लिएर पढ्न बस्थे । अरुको कुरामा कहिले पनि लागिन् । धेरै मानिसहरुले विवाह पछि यो त बच्चा पाउने उमेर हो पढेर के गर्छौ, भन्थे । विवाह गर्ने समयमा श्रीमानले पढाउने वाचा गरेको थिए । ससुराले ठाकुर राम बहुमुखी क्याम्पसमा बि.एडमा भर्ना गरिदिनु भयो । सासु पनि पढे लेखेको भएको कारण मलाई धेरै गाह्रो भएन । गाउँघरको मानिसहरुले कुरा काट्ने काम गर्थे । पढेलेखेको बुहारी घरमा भए काम गर्दैन । घरको वातावरण नै बिगार्छ । भनेर सासुलाई भन्ने गर्थे । घरमा पढ्दा केही बाधा भयो । तर त्यसलाई मैले सहज बनाए । माइतमा हुँदा यस्ता कुराहरु सुन्न पाइदैनथ्यो ।
अभिभावकले छोरीको विवाह किन सानै उमेरमा गर्छन् ?
पहिला सामुहिक परिवारमा हुदाँ हजुर बुबाको कुरा मान्ने धेरै नै चलन थियो । मेरो बुबा शिक्षक भएर पनि हजुरबुबाको बढि दबाव थियो । कम उमेरमा विवाह गरिदिदाँ राम्रो हुन्छ भने परिवार पनि राम्रो पाइरहेको छ भने किन पढाउनु भन्नै चलन थियो । त्यति बेला एस.एल.सी पास गर्दा ठूलो मानिस हुन्थ्यो । म विवाह गरेर आएपछि स्कूलबाट कामकोलागि कुरा आउन थाले । त्यो समयमा एस.एल.सी पासको धेरै महत्व थियो । त्यो बेलामा पढ्नलाई पढाउने तर घर बाहिर गएर काम नगरोस् भन्ने चाहना थियो । पहिला छोरी र बुहारीको कमाइ नखाने सोच थियो । म पनि त्यसैमा परेको थिए । ससुराले पनि मलाई जागिर गर्न दिनु भएन । त्यो बेला घरमा जागिर दिन आउँथे ।
महिलाहरु घर बाहिर निस्कन नपाउदाँ महिला, पुरुष समान हुन सम्भव छ ?
समानताको कुरा जहाँ आउँछ भने समाजले पुरुष र महिलाको समाज बनाएको छ । पुरुषले कहिले पनि समानता हुन दिदैन । समानता भएपछि उसले पनि बराबरको काम गर्नुपर्छ । उसलाई पनि घर सम्हाल्नु पर्छ । बच्चालाई हुर्काउनमा सहयोग गर्नुपर्छ । खाना बनाउनमा पनि सहयोग गर्नुपर्छ । तर पुरुषले यो कहिले पनि चाहदैन । पुरुष हो भनेर सोच बनी सकेको छ । महिला पनि यसको जिम्मेवारी छौं । महिलाले पहिलो सन्तानको जन्म दिदाँ छोरी नभएर छोरा होस् भन्ने सोच हुन्छ । छोरा हुनुपर्छ भन्ने समाजको सोच छ । आमाले नै छोरा र छोरीमा फरक गर्छन् । छोरालाई बढि माया गर्ने र छोरीलाई कम माया गर्ने चलन छ । छोरा र छोरीले पाउने शिक्षा, स्वास्थ्यमा फरक हुन्छ । अहिले पनि महिलालाई ३० प्रतिशत मात्र आरक्षण दिएको छ । अझै पनि ५० प्रतिशत भने दिन सकेको छैन । पुरुषको नै हालीमुहाली छ । महिलाहरु भएको कार्यालयहरुमा गएको छु । समयमा आउने, समयमा काम गर्ने । पुरुषले त्यति केहि गर्दैन तर पुरुषत्वको जुन बानी छ हामी त्यसलाई हटाउन सकिरहेको छैन । त्यो हटाउनको लागि अझै हामीले काम गर्नुपर्छ ।
महिला र पुरुषले संचालन गरेको कार्यालयहरुमा के फरक पाउनु भयो ?
महिलाहरु धेरै संस्था सञ्चालन गरिरहेको छन् । अहिले आफु पनि काम गरिरहेका छन् । महिलाहरुलाई पनि काममा संलग्न गराएका छन् । पुरुषहरु १२ बजेको समय दिन्छन् भने १ बजे आउँछन् । महिलाले दिएको समयभन्दा पहिला नै पुग्छन् । महिलाहरुले सञ्चालन गरेको संस्था बेग्लै हुन्छ । पुरुषले सञ्चालन गरेको संस्था बेग्लै हुन्छ । पुरुषप्रधान समाजले महिलालाई ३० प्रतिशतमा अड्काएको छ । धेरै क्षेत्रमा महिलाहरु आइरहेका छन् । तर महिलालाई नै संघर्ष गरेर अगाडी बढ्नु पर्छ । संघर्ष सबैभन्दा पहिला आफ्नै घरबाट सुरु हुन्छ । बाहिर काम गर्नको लागि परिवारको सहयोग चाहिन्छ । यदि घर परिवारको विश्वास पायो भने आफै बिस्तारै बिस्तारै अगाडी बढ्न सकिन्छ ।
मधेशको महिलालाई घर बाहिर निस्कन सक्षम बनाउन के गर्नुपर्छ ?
मधेशको गाउँघरको महिलाहरुलाई घरबाट बाहिर निस्कनको लागि हाम्रो जस्तो महिला जागृति मिसनमा काम गरेको मानिसहरु र संस्थाहरु चाहिन्छ । जुन घरमा गएर महिलाभन्दा पुरुषलाई सम्झानु पर्छ । म पनि महिला छु र बाहिर आएर तपाईको आँगनमा आएको छु । मलाई समाजले केही गरेको छैन । महिलालाई घर बाहिर काम गर्न दिएमा घरमा आर्थिक सहयोग हुन्छ । परिवारको उन्नति हुन्छ । समाजमा केही बाधा छैन, बाधा तपाईको मनमा छ । त्यो मनलाई मजबुत बनाउन बाहिर आउनु दिनुस् । जहाँ आर्थिक उन्नति हुन्छ । कुनै कामको तालिम लिनुहुन्छ । तालिमको सदुपयोग गरेर आर्जन गरेर घरमा दिन्छन् । महिलाले आत्मनिर्भर हुनको लागि आफु अगाडी बढ्नको लागि आर्थिक रुपमा बलियो हुनुपर्छ । महिला बाहिर नजाने सोचमा आज पनि छन् । जति नै भने पनि महिला निस्कन गाह्रो मान्छन् ।
तपाई दाइजो प्रथामा के काम गर्नु हुन्छ ?
सचेतनाको काम गर्छ । जो मानिसहरु आएर दाइजो प्रथाको कुरा गर्छन् भने यो कुरा नराम्रो हो । अहिले अशिक्षित भएर दाइजो लिएको होइन । शिक्षित मानिसहरु पनि दाइजो लिइरहेका छन् । समाजमा एउटा दाइजो लिने चलन छ । त्यो चलनलाई कानुनी नियम पनि बनाएको छ । तर कानुनमा बनाउने मानिसहरुलाई त्यहाँसम्म पु¥याउनु पर्छ । समाज सेवा गर्ने मानिसहरुले दाइजो लिने दिने दुबैलाई समात्नु पर्छ । मेरो पनि तिनवटा बच्चा छन् । उनीहरुको विवाह गर्दा न दाइजो लिएको छु, न दाइजो दिएको छु ।
तपाईको संस्थाले के काम गर्दै छ ?
हामी सबैभन्दा बढि आर्थिक सफलताकोलागि काम गछौं । जस्तो ब्युटिसियन कोर्षहरु, मेहन्दीको तालिम, पेन्टिंग, डल, कुसन बनाउने त्यसपछि कम पैसामा फोटो फ्रेम अरु पनि धेरै समानहरु छन । जसमा १० रुपैयाँ लगानी गरेर २० रुपैयाँ कमाउन सकिन्छ । अहिले सम्म ५ सय जनाभन्दा बढिलाई सिकाएका छौं । अहिले सम्म २ सय जना महिला स्वरोजगार भएका छन् ।