के बाल विवाह, दाईजो प्रथा र विवाहमा हुने फजुल खर्चलाई नियन्त्रण गर्न सकिन्छ? यस सवालको जवाफमा वीरगंजमा बिहीबार सम्पन्न भएको कार्यक्रममा सहभागी सरोकारवालाले एकजुट भएर यसमा काम गर्न प्रतिबद्धता जनाएका छन्।
कार्यक्रममा सहभागी भएका विभिन्न सरोकारवालाले बाल विवाह, दाइजो प्रथा र विवाहका फजुल खर्चलाई समाजका लागि हानिकारक अभ्यास भनेर व्याख्या गरेका थिए। उनीहरूको भनाइ अनुसार, समाजका यी कु-प्रथाहरू समाजको क्यान्सर जस्ता हुन्, जसलाई जिम्मेवार सरोकारवालाले मिलेर नियन्त्रण गर्नुपर्ने छ। उनीहरूले एकल प्रयासबाट यी समस्याहरूको समाधान सम्भव नहुने बताउँदै सामूहिक पहलको आवश्यकता औंल्याए।
यस कार्यक्रमको आयोजना युएसएआइडीको आर्थिक सहयोग र द एशिया फाउण्डेशनसँगको सहकार्यमा हाम्रो अभियान पर्साले गरेको हो। महिला, युवा र सिमान्तकृत समुदायको मुद्दा उठाउने उद्देश्यले मधेश प्रदेशमा मिडिया फेलोशिप कार्यक्रम पनि सञ्चालन गरिएको थियो। फेलोजहरुले लेखेका ‘सानै उमेरमा विवाह, पढ्न पाएनन् छोरीहरू’ र ‘छोरीहरूको विवाहसँगै ऋणको भार’ शीर्षकका समाचारलाई आधार बनाएर कार्यक्रमको छलफल केन्द्रित गरिएको थियो।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बाल विवाह, दाईजो प्रथा र विवाहमा हुने फजुल खर्चको अन्त्य भित्र र बाहिरको फरक अनुहारले सम्भव नहुने बताएका थिए। उनले यसका लागि व्यवहारिक दृष्टिकोणबाट काम गर्नुपर्नेमा जोड दिएका थिए। अर्यालले भने, “भाषण मात्रले काम हुँदैन, वास्तविक परिवर्तनका लागि जिम्मेवार व्यवहार आवश्यक छ।”
कार्यक्रममा सहभागीहरूले विभिन्न रणनीतिहरू बनाई बाल विवाह, दाइजो प्रथा र विवाहमा हुने फजुल खर्चलाई नियन्त्रण गर्ने प्रस्ताव अघि सारेका थिए। यसमा वीरगंज महानगरपालिका, पर्सागढी, पोखरिया नगरपालिका र जगरनाथपुर गाउँपालिकालाई योजनाबद्ध कार्यान्वयनका लागि दबाब दिने, पालिकालाई स्नातक तह उतीर्ण गरेर विवाह गर्नेलाई नगद पुरस्कार दिने, किशोर किशोरीलाई बाल विवाह नगर्ने र गर्न नदिने प्रतिबद्धता जनाउन प्रेरित गर्ने लगायतका बुँदाहरू प्रस्तुत गरिएका थिए।
आयोजनामा सहभागीहरूले यसका साथै राजनैतिक क्षेत्रबाट पनि बाल विवाह, दाइजो प्रथा र विवाहमा हुने फजुल खर्च नियन्त्रणका लागि प्रतिबद्धता जनाउनुपर्ने, प्रेम र अन्तरजातीय विवाहलाई प्रोत्साहन गर्नुपर्ने, र सामूहिक विवाहको महत्त्वलाई बुझ्नुपर्ने कुरामा जोड दिएका थिए।
धार्मिक अगुवाहरूले पनि कुनै धार्मिक ग्रन्थले बाल विवाह, दाइजो प्रथा र फजुल खर्चलाई प्रोत्साहन नगरेको बताएका थिए र छोरीलाई छोरा सरह अंश दिन सके दाइजो प्रथाको समस्या नआउने तर्क गरेका थिए।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, महिला अधिकारकर्मी बबिता जयसवाल, सामाजिक अभियन्ता प्रकाश थारु, युवा नेता ओम प्रकाश सर्राफ, तथा अन्य सामाजिक व्यक्तित्वको सहभागिता थियो।
मिडिया फेलोशिप कार्यक्रमले सात महिना लामो अवधिमा १० जना युवा पत्रकारलाई प्रशिक्षण प्रदान गरेको थियो र उनीहरूले ४४ वटा समाचार प्रकाशित गरेका छन्। यसका आधारमा ‘समाचार सङ्गालो’ किताब प्रकाशित गरिएको छ।
बाल विवाह र दाइजो प्रथा सम्बन्धी परामर्श बैठक(भिडियाे) :