मधेश केन्द्रित राजनीतिक दलहरूले आगामी महिनामा संयुक्त मोर्चा गठन गर्नका लागि आठ सदस्यीय कार्यदल गठन गर्ने निर्णय गरेका छन्। सो कार्यदलले मोर्चाको अवधारणा, एजेन्डा र मोडल तयार गर्नेछ।
सोमबार भएको आठवटा दलका नेताहरूको बैठकमा यस निर्णयमा पुगिएको हो। बैठकमा प्रत्येक दलबाट एक/एक जना नेतालाई कार्यदलमा समावेश गर्ने निर्णय गरिएको छ। कार्यदलको गठन बिहीबारसम्म पूरा गर्ने र त्यसपछि सबै दलका अध्यक्षसहित बैठक बस्ने तय गरिएको छ।
राष्ट्रिय मुक्ति पार्टी नेपालका नेता केशव झाले जनाए अनुसार कार्यदलले मोर्चाको उद्देश्य, एजेन्डा र मोडल तय गरेर सबै दलका अध्यक्षसँग छलफल गर्नेछ। उनले भने, "अवधारणा, एजेन्डा, मोडल तयार गरेर सबै अध्यक्षसँग छलफल गरेर बैठक गर्ने निर्णय भएको छ।"
सो बैठकमा विभिन्न दलका प्रतिनिधिहरू सहभागी थिए, जसमा जनता समाजवादी पार्टीबाट रेणु यादव, जसपा नेपालबाट मनिष सुमन, जनमत पार्टीबाट अब्दुल खान, लोसपा नेपालबाट सवेन्द्रनाथ शुक्ल, नागरिक उन्मुक्तिबाट लालवीर चौधरी र गंगा चौधरी, राष्ट्रिय मुक्ति पार्टी नेपालबाट केशव झा र सन्तोष मेहता, जनता प्रगतीशील पार्टीबाट हृदयेश त्रिपाठी र डा. शिवजी यादव तथा तराई मधेश लोकतान्त्रिक पार्टीबाट वृषेशचन्द्र लाल सहभागी थिए।
यसै बीच, राष्ट्रिय मुक्ति पार्टी नेपालले एक वृहत् संयुक्त मोर्चा निर्माण गर्नका लागि कार्यदल गठन गरेको जनाएको छ। रामनरेश रायको संयोजकत्वमा गठन गरिएको कार्यदलमा सुमन सायमी, केशव झा, सन्तोष कुमार मेहता, अनिल कुमार महासेठ, सिएन थारु र जुनतारा पुन मगर सदस्य रहेका छन्।