नेपालमा दैनिक औसतमा चार महिलाको मृत्यु हुने पाठेघरको मुखको क्यान्सरविरुद्ध पर्सा जिल्लामा विशेष खोप अभियान सुरु हुँदैछ। स्वास्थ्य कार्यालय पर्साले माघ २२ देखि फागुन ६ सम्म सञ्चालन गर्ने एचपीभी (ह्युमन प्यापिलोमा भाइरस) खोप अभियानले ३८ हजार ५५७ जना १० देखि १४ वर्षका बालिका र किशोरीलाई प्रतिरोधात्मक खोप लगाउने लक्ष्य लिएको छ।
जिल्लामा क्यान्सर जोखिम उच्च रहेको आँकडाको बीच सुरु हुन लागेको यो अभियानले पाठेघरको मुखको क्यान्सर रोकथाममा महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ। विश्व स्वास्थ्य संगठनका अनुसार, नेपालमा हरेक वर्ष २,१६९ महिलामा यो क्यान्सर देखिन्छ, जसमध्ये १,३१३ जनाको मृत्यु हुने गर्दछ।
दुई चरणमा सञ्चालन हुने खोप अभियान
स्वास्थ्य कार्यालय पर्साका प्रमुख डा. मुक्ति नारायण साहका अनुसार, अभियान दुई चरणमा सञ्चालन हुनेछ। पहिलो चरण माघ २२ देखि माघ २८ सम्म वीरगन्ज महानगरका १६ वडासहित पर्सागढी, पोखरिया, पटेर्वा सुगौली, जिराभवानी, सखुवा प्रसौनी र जगरनाथपुरमा सञ्चालन हुनेछ। दोस्रो चरणमा माघ ३० देखि फागुन ६ सम्म वीरगन्ज महानगरका बाँकी १६ वडा तथा अन्य पालिकाहरूमा खोप लगाइनेछ।
वीरगन्जमा सबैभन्दा धेरै लक्षित
जिल्लाका १४ पालिकामध्ये सबैभन्दा बढी बालिका वीरगन्ज महानगरपालिकामा छन्। यहाँ १६ हजार ९४७ जना बालिका र किशोरीलाई खोप लगाइने योजना छ। खोप अभियानका लागि विद्यालयहरूमा खोप केन्द्र स्थापना गरिनेछ भने अन्तिम दिन फागुन ६ मा छुटेका बालिकाका लागि हरेक वडामा खोप केन्द्र स्थापना गरिनेछ।
पाठेघरको क्यान्सर रोकथाममा ठूलो कदम
गत वर्ष वीरगन्जको नारायणी अस्पतालमा १,६८० जना बालिकाले एचपीभी खोप लगाएको तथ्यांकले खोप अभियानप्रति सकारात्मक सन्देश दिएको छ। यस वर्षको अभियानले अझै फराकिलो क्षेत्रलाई समेट्नेछ।
समुदायलाई आग्रह
कार्यक्रमका क्रममा स्वास्थ्य कार्यालय प्रमुख डा. साहले अभियानलाई सफल बनाउन विद्यालयका शिक्षक, वडाध्यक्ष, र अभिभावकलाई सक्रिय सहभागिताको अपिल गरे। वीरगन्ज-४ का वडाध्यक्ष जगत साह कानुको अध्यक्षतामा भएको कार्यक्रममा स्वास्थ्य निरीक्षक मल्लिका श्रेष्ठ, अनिल यादवलगायत जनप्रतिनिधि र सरोकारवालाको उपस्थिति थियो।