आज शहिद दिवसको अवसरमा वीरगञ्ज लगायत देशभर शहिदहरूको सम्मानमा विभिन्न कार्यक्रमहरूको आयोजना गरिएको छ। वीरगञ्जको घण्टाघरस्थित शहिदपार्क, नारायणी अस्पताल र गण्डक चोकमा रहेका शहिदहरूको शालिकमा माल्यार्पण गर्दै श्रद्धाञ्जली अर्पण गरिएको हो।
जिल्ला प्रशासन कार्यालय पर्सा र विभिन्न स्थानीय निकायहरूको संयुक्त आयोजनामा वीरगञ्जको शहिदपार्कमा मधेस आन्दोलनका शहिदहरूको शालिकमा माल्यार्पण कार्यक्रम सम्पन्न भयो। प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा वक्ताहरुले शहिदहरूले देखाएको सपना पूरा गर्न सबै पक्षलाई जिम्मेवार बनाउने आवश्यकता औंल्याए।
कार्यक्रममा नेपाली कांग्रेस, नेकपा एमाले र राप्रपा लगायतका राजनीतिक दलका प्रतिनिधिहरुले शहिद दिवस मनाउन राज्यपक्षबाट पहिलो पटक वीरगञ्जमा आयोजना गरिएको कार्यक्रममा उपस्थित हुन पाउँदा खुशी व्यक्त गरे। उनीहरुले शहिदहरूको बलिदानले स्वतन्त्रता र लोकतन्त्रको स्थापना गरेको बताउँदै यसलाई अझ उन्नत बनाउने दायित्व सबैको रहेको बताएका थिए।
त्यस्तै, नेपाली काँग्रेस पर्साले शहिद दिवसको अवसरमा १० जना अग्रजलाई सम्मान प्रदान गरेको छ। वीरगञ्ज-१४ स्थित गण्डक चोकमा आयोजित एक विशेष कार्यक्रममा लोकतन्त्र, मानव अधिकार र समाज सेवामा योगदान पुर्याउने व्यक्तिहरुलाई दोसल्ला ओढाएर सम्मानित गरिएको हो। सम्मानित व्यक्तिहरुमा नगेन्द्र पटेल, याकुब अन्सारी, लालबहादुर राउत, शान्ति कार्की, लक्ष्मण प्रसाद कुर्मी, लाल महमद मियाँ, जमिला खातुन, पार्वती देवी, नेत्र बहादुर केसी र हिराकान्त चौधरी समावेश छन्।
कार्यक्रमका प्रमुख अतिथिहरु, कृषि मन्त्री जनार्दन सिंह क्षेत्री र प्रदेश सभा सदस्य श्याम पटेलले शहिदहरूको सपना पूरा गर्ने जिम्मेवारीसँगै सम्मानित व्यक्तिहरुको योगदानको पनि उच्च प्रशंसा गरे।
यस अवसरमा वीरगञ्ज महानगरपालिकाका उपमेयर इम्तियाज आलम, पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, नेपाली कांग्रेस पर्साका कार्यवाहक सभापति रामनारायण कुर्मी, नेकपा एमाले पर्साका अध्यक्ष डा. विश्वम्भर शर्मा, राप्रपाका जिल्ला सचिव पन्नालाल पटेल र नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनालले शहिदहरूको योगदानलाई श्रद्धापूर्वक सम्मान गरे।
कार्यक्रममा सरकारी अधिकारी, सुरक्षाकर्मी, विभिन्न संघसंस्थाका प्रतिनिधि र सञ्चारकर्मीहरूको पनि उपस्थिति रहेको थियो।