अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आप्रवासी निष्कासन अभियानअन्तर्गत १,३६५ जना नेपाली अमेरिकाबाट निष्कासनमा पर्ने भएका छन्। अमेरिकाको अध्यागमन कार्यालयले सार्वजनिक गरेको सूची अनुसार, यी १,३६५ नेपालीहरूलाई अमेरिकाबाट निष्कासन गरिने छ। यसै सूचीमा विभिन्न देशका १४ लाख ४५ हजार ५ सय ४९ जना आप्रवासी पनि छन्।
अमेरिकाबाट निष्कासन हुनेमध्ये सबैभन्दा धेरै होन्डुरसका २ लाख ६१ हजार ६ सय ५१ जना, ग्वाटेमालाका २ लाख ५३ हजार ४ सय १३ जना र मेक्सिकोका २ लाख ५२ हजार ४४ जना रहेका छन्। चीनका ३७ हजार ९ सय ८ जना र भारतका १७ हजार ९ सय ४० जना पनि अमेरिकाबाट निष्कासन हुने सूचीमा परेका छन्।
अमेरिकाको आन्तरिक सुरक्षा विभागका अनुसार, अमेरिकामा ३ लाख भन्दा बढी नेपाली मूलका बासिन्दा रहेका छन्। तीमध्ये २ लाख जनाले ग्रीन कार्ड र झन्डै ८७ हजार जनाले नागरिकता प्राप्त गरेका छन्। २० हजार जना विद्यार्थी छन् भने २० हजार जनाले शरणार्थीका रूपमा आवेदन दिएका छन्। ७ हजार ५ सय जनाले अस्थायी आवासीय अनुमति पाएका छन्।
अमेरिकाको अध्यागमन र भन्सार प्रवर्द्धन कार्यालयले १,३६५ नेपाली अनधिकृत रहेको अनुमान गरेको छ। प्यु रिसर्चका अनुसार, अमेरिकामा १ करोड २० लाख जना अवैध आप्रवासी छन्। तीमध्ये सबैभन्दा बढी मेक्सिकोका ५० लाख जना छन्। दोस्रोमा एल साल्भाडोरका ७ लाख ५० हजार र तेस्रोमा भारतका ७ लाख २५ हजार जना अनधिकृत आप्रवासी रहेका छन्।
डोनाल्ड ट्रम्पले राष्ट्रपतिको जिम्मेवारी सम्हालेसँगै अमेरिकाले अनधिकृत आप्रवासीलाई सामूहिक रूपमा फिर्ता गर्न थालेको छ। ट्रम्पको कार्यकालमा कम्तीमा २,६८१ जना अनधिकृत आप्रवासी पक्राउ परेका छन्। ट्रम्पले चुनावी अभियानमा घोषणा गरेअनुसार दक्षिणी सीमामा सङ्कटकाल घोषणासमेत गरिसक्नुभएको छ। सङ्कटकाल घोषणासँगै, अमेरिकाले मेक्सिकोसँगको सीमा क्षेत्रमा १५ सय सैनिक तैनाथ गरेको छ।