वीरगञ्ज महानगरपालिका वडा नं. १३ स्थित साउथ जोन माद्यमिक विद्यालयले आफ्नो १६ औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ। विद्यालयका प्रधानाध्यापक सरोज प्रसाद चौधरीका अनुसार, ‘रक्तदानको महत्व र समाजप्रतिको जिम्मेवारी बुझ्न जरुरी छ‘, र यसै सोचका साथ विद्यालयले रक्तदान कार्यक्रम आयोजना गरेको हो।
कार्यक्रममा ५३ जना सहभागी भएका थिए, जसमा १४ महिलासहित शिक्षक, अभिभावक र विद्यार्थीको सहभागिता देखिएको थियो। प्रमुख रक्तदाताहरूमध्ये सम्झना चौधरी, सरिता झा, दिपा शर्मा, स्मिता सिलवाल, राजन दास, धीरज घिमिरे, सुनिल कपुर दास, कुनाल जयसवाल, विशाल पटेल लगायतका नाम समावेश छन्।
नेपाल रेडक्रस सोसाइटी पर्साका सभापति विरेन्द्रराज कँडेल र विद्यालयका अन्य प्रमुख अतिथिहरूको उपस्थिति रहेको कार्यक्रममा कँडेलले पहिलो रक्तदान गर्ने रक्तदातालाई रगत संकलन गर्ने पोका हस्तान्तरण गरेर कार्यक्रमको शुभारम्भ गरेका थिए।
विद्यालयले वार्षिकोत्सवको अवसरमा विभिन्न सप्ताहव्यापी कार्यक्रमहरूको आयोजना गरेको छ। मंगलबार, विद्यालयले अभिभावकहरूको लागि निशुल्क स्वास्थ्य जाँच शिविर पनि आयोजना गरेको थियो। शिविरमा ५० भन्दा बढी अभिभावकहरूले स्वास्थ्य जाँचको लाभ उठाएका छन्। शिविरमा चिकित्सक डा। वेदप्रकाश कुशवाहा र डा। सुशिल कुमार साहको सिफारिस अनुसार आवश्यक टेस्टहरू र औषधि विद्यालयले निशुल्क व्यवस्थापन गरेको थियो।
त्यसै गरी, अन्य कार्यक्रमहरूमा माघ १६ गते नर्सरीदेखि कक्षा २ सम्मको खेलकुद कार्यक्रम, माघ १७ गते सामुदायिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामाग्री हस्तान्तरण, माघ १८ गते सांस्कृतिक कार्यक्रम र पुरस्कार वितरण कार्यक्रम, र माघ २० गते १६ औं वार्षिकोत्सव र पुरस्कार वितरण कार्यक्रम आयोजन गरिएको छ ।
साउथ जोन माद्यमिक विद्यालय २०६६ सालमा स्थापना भएको हो र हाल विद्यालयमा करिब १८ सय विद्यार्थी अध्ययनरत छन्।