“बाटो जति कठिन हुन्छ, सफलता पनि त्यति नै मीठो लाग्छ,” बिपिएस प्लस २ का शैक्षिक निर्देशक दीपक पटेलले भने, “हाम्रा विद्यार्थीहरूले आफ्नो क्षमता प्रमाणित गर्दै स्वर्णपदक जितेका छन्, जुन सम्पूर्ण कलेजका लागि गौरवको विषय हो।”
फस्ट इन्डो नेपाल ताइक्वान्दो ओपन च्याम्पियनशीप्स २०२५ मा बिपिएस प्लस २ का दुई विद्यार्थीले स्वर्णपदक जित्न सफल भएका छन्।
बिपिएस प्लस २ को कक्षा ११ मा अध्ययनरत सुजित कुमार यादव र रोहन पटेलले उत्कृष्ट प्रदर्शन गर्दै स्वर्णपदक जितेका हुन्। प्रतियोगिता सकेर फर्किएका विद्यार्थीहरूलाई कलेजले एक सम्मान कार्यक्रम आयोजना गरी खादा, टीका र पुरस्कार प्रदान गर्दै उनीहरूको उपलब्धिलाई कदर गरेको थियो।
कोशी प्रदेश ताइक्वान्दो संघले झापाको काँकडभिट्टा टाउन हलमा आयोजना गरेको दुई दिने प्रतियोगितामा ५५ किलो तौल समूहमा यादव र ७४ किलो तौल समूहमा पटेलले प्रथम स्थान हासिल गर्दै स्वर्णपदक जितेको कलेजका एचआर निर्देशक सन्दीप कुशवाहाले जानकारी गराए।
प्रतियोगिताको महत्त्व दर्शाउँदै कलेजका शैक्षिक निर्देशक दीपक पटेलले विद्यार्थीहरूको प्रतिभा समयमै पहिचान भएमा भविष्यमा उनीहरूलाई अगाडि बढ्न सहज हुने बताए। उनले भने, “हाम्रो कलेजका विद्यार्थीहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा आफ्नो पहिचान बनाउन सफल भएका छन्।”
नेपाल र भारतका २२ क्लबबाट ६ सयभन्दा बढी खेलाडीहरूको सहभागिता रहेको उक्त प्रतियोगितामा वीरगन्जले ५ स्वर्ण, ४ रजत र ११ कास्य पदक जित्दै उत्कृष्ट प्रदर्शन गरेको छ।