फरक फर्म्याटमा भएको यूईएफए च्याम्पियन्स लिगको लिग चरणको खेलहरू सकिएसँगै नकआउट चरणको समीकरण पूरा भएको छ।
इंग्लिस क्लब लिभरपुलको शतप्रतिशत जितमा ब्रेक लागेपनि, लिग चरणमा लिभरपुल शीर्ष स्थानमा रहेर प्रि-क्वाटरफाइनलमा प्रवेश गरेको छ। लिगको अन्तिम खेलमा लिभरपुललाई नेदरल्याण्ड्सको पीएसभी आइन्डहोभनले पुनरागमन गर्दै ३-२ ले पराजित गरेको हो।
लिभरपुलका कोडी गाक्पोले पेनाल्टीमा गोल गर्दै लिभरपुललाई पहिले अग्रता दिलाए पनि पीएसभीले पुनरागमन गर्दै खेल जितेको थियो। पीएसभीका लागि जोहान बाकायोको, इस्माउल साइबारी र रिकार्डो पेपीले गोल गरे। लिभरपुलका लागि हार्भे एलिएटले अर्को गोल गरे।
लिभरपुलसँगै इंग्ल्याण्डबाट आर्सनल र एस्टन भिल्ला गरी सर्वाधिक ३ क्लब अन्तिम आठमा पुगेका छन्। आर्सनलले जिरोनालाई २-१ ले र एस्टन भिल्लाले सेल्टिकलाई ४-२ ले हरायो।
यसैगरी, स्पेनिस क्लब बार्सिलोना र एट्लेटिको मड्रिड, इटलीको इन्टर मिलान, जर्मनीको बायर लेभरकुजन र फ्रान्सको लिल पनि सिधै अन्तिम १६ मा प्रवेश गरेका छन्।
बार्सिलोनाले लिगको अन्तिम खेलमा एटलान्टासँग २-२ को बराबरी खेल्दा, एट्लेटिको मड्रिडले आरबी साल्जवर्गलाई ४-१ ले हरायो। यस्तै, इन्टर मिलानले मोनाकोलाई ३-० ले, बायर लेभरकुजनले स्पार्टा प्रागलाई २-० ले, र लिलले फेयनुर्डलाई ६-१ ले हरायो।
रियल मड्रिड, बायर्न म्युनिख, म्यानचेस्टर सिटी, पेरिस सेन्ट जर्मेन र एसी मिलान जस्ता क्लबहरूले भने प्रि-क्वाटरफाइनल पुग्न प्लेअफ खेल्नुपर्ने भएको छ।
लिग चरणमा ३६ क्लबले प्रतिस्पर्धा गरेकोमा, शीर्ष ८ टोली सीधै प्रि-क्वाटरफाइनल पुग्दा, नवौंदेखि २४औं स्थानसम्मका टोलीहरूले प्रि-क्वाटरफाइनल प्रवेशका लागि प्लेअफ खेल्नेछन्। २५औं देखि अन्तिम स्थानसम्म रहेका क्लबहरू भने बाहिरिएका छन्।
अब नकआउट चरणका लागि प्लेअफ खेल हुनेछन्, र त्यसपछि अन्तिम १६ को खेल हुनेछ। लिगमा शीर्ष दुईमा रहेको लिभरपुल र बार्सिलोनाबीच अब फाइनलअघि भेट हुने छैन।