नेपाल कमर्स एसोसिएसनको पहिलो अन्तर्राष्ट्रिय सम्मेलन वीरगञ्जको होटेल भिषुवामा बुधबारदेखि सुरु भएको छ। सम्मेलनको उद्घाटन भारतीय कमर्स एसोसिएसनका उपाध्यक्ष प्रा. डा. मानस पाण्डेले गरेका छन्।
सम्मेलनको मुख्य उद्देश्य नेपालका उद्योग र व्यवसायका सम्भावनाहरूलाई संस्थागत गर्दै, तिनीहरूको अध्ययन र अनुसन्धानलाई प्रोत्साहन गर्नु रहेको आयोजकहरूले बताएका छन्। सम्मेलनमा वाणिज्य र व्यवस्थापनका क्षेत्रमा नयाँ विचार र दिशा प्रस्तुत गर्ने उद्देश्य राखिएको छ।
नेपाल कमर्स एसोसिएसनका अध्यक्ष डा. दीपेन्द्र कुमार चौधरीले सम्मेलनको उद्दीपनामा वाणिज्य र व्यवस्थापनको क्षेत्रलाई समेट्दै, नेपालका दीर्घकालीन आर्थिक विकासको मार्गचित्र तयार पार्ने कुरामा जोड दिएका छन्। उनले भने, “सम्मेलनले नेपालको व्यावसायिक क्षेत्रमा सुधार र नवाचारका अवसरहरू ल्याउनेछ, जसले आर्थिक भविष्यलाई उज्ज्वल बनाउनेछ।"
कार्यक्रमको उद्घाटन सत्रमा प्रमुख अतिथि प्रा. डा. मानस पाण्डेले अन्तर्राष्ट्रिय सहयोग र ज्ञानको आदानप्रदानको महत्त्वबारे चर्चा गर्दै, विश्वव्यापी व्यापार र उद्योगका क्षेत्रहरू बीचको आपसी सञ्जाल जडानको आवश्यकता औँल्याए। उनले भने, "यस प्रकारको सम्मेलनले व्यवसायिक क्षेत्रको सञ्जाललाई सुदृढ गर्न मद्दत पुर्याउनेछ।"
कार्यक्रमको दोस्रो सत्रमा २१ वटा विभिन्न कार्यपत्रहरू प्रस्तुत गरिने छन्, जसमा व्यवसाय, वाणिज्य, वित्तीय व्यवस्थापन र मानव संसाधनका क्षेत्रमा महत्वपूर्ण विचार र समाधानहरू प्रस्तुत गरिने छन्।
सम्मेलनले नेपालका व्यावसायिक र शैक्षिक संस्थाहरू बीचका सम्बन्धलाई सुदृढ बनाउँदै, नयाँ अनुसन्धान र अन्वेषणका अवसरहरू सिर्जना गर्ने विश्वास गरिएको छ।