लामो समयदेखि अवरुद्ध प्रशासनिक र विकास निर्माणका कार्यहरू पुनः सञ्चालनमा आउने भएका छन्। बहुदरमाई नगरपालिकाका मेयर सिंगासन सा तेली र प्रमुख प्रशासकीय अधिकृत महमद शेरे मुस्तफाबीच सात महिनादेखि जारी रहेको विवाद अन्ततः समाधान भएको छ।
नगरपालिकामा बजेट खर्चको अख्तियारी नदिएकै कारण शिक्षक, स्वास्थ्यकर्मी र कर्मचारीहरूले सात महिनासम्म तलबभत्ता नपाएको समस्या उत्पन्न भएको थियो। विद्यालयहरूले ताल्चा लगाएर प्रमुख जिल्ला अधिकारीलाई चाबी बुझाएपछि विद्यार्थीहरू दुई सातादेखि पठनपाठनबाट बञ्चित थिए। यही विवादकै कारण अघिल्लो महिना विद्यार्थीहरूले नगरपालिकाको कार्यालयमा तोडफोड र आगजनी गर्दा १ करोडभन्दा बढीको भौतिक क्षति भएको थियो।
यस समस्याको समाधानका लागि बुधबार काठमाडौंमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता र खानेपानीमन्त्री प्रदीप यादवको पहलमा मेयर तेली र प्रमुख प्रशासकीय अधिकृत मुस्तफाबीच छलफल गराइएको थियो। छलफलपछि मेयर तेलीले गत कात्तिक ८ गते पारित नीति, कार्यक्रम तथा बजेट प्रमाणिकरण गरेका छन्।
प्रमुख प्रशासकीय अधिकृतको सरुवा गरिने सहमति पनि छलफलबाट जुटेको जसपाका एक नेताले जानकारी दिए। संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री गुप्ताले शुक्रबार नै बहुदरमाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुस्तफाको सरुवा गर्ने र नयाँ अधिकृत पठाइने सहमति भएको उनले बताए।
खानेपानीमन्त्री यादवका अनुसार, दुवै पक्षबीच आपसी समझदारी गराएर नगरपालिकाको अवरोध हटाइएको छ।
उनले भने, "सामान्य प्रशासनमन्त्री गुप्ताजी र मैले संयुक्त पहल गरी मेयर र प्रमुख प्रशासकीय अधिकृतलाई छलफलमा ल्याएर सहमति गराएका हौं। अब नगरपालिकाका सबै काम सुचारु हुनेछन्।"
नगरवासी खुशी
विवाद सुल्झिएपछि नगरवासी खुशी भएका छन्। बहुदरमाई–२ का नेपाली कांग्रेसका युवा नेता राकेश यादवले मेयर र प्रमुख प्रशासकीय अधिकृतबीचको समझदारीलाई स्वागतयोग्य भन्दै ढिलै भए पनि समाधान निकालिएकोमा मन्त्रीहरूको पहलप्रति धन्यवाद व्यक्त गरे।
उनले भने, "नगरपालिकालाई सात महिनासम्म अनिर्णयको बन्दी बनाउनेहरूलाई जनताले आगामी दिनमा उचित जवाफ दिनेछन्। तर अहिले तत्कालका लागि निकास भेटिएकोमा हामी सबै खुशी छौं।"