नेशनल इन्फोटेक कलेजद्वारा वीरगञ्जमा आयोजित चौथो संस्करणको नेशनल इन्फोटेक कप – २०८१ ट्वान्टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा ग्लोबल बिजनेस कलेजले ज्ञानदा एकेडेमीलाई ७ रनको अन्तरले हराउँदै उपाधि जितेको हो। खेलको प्रारम्भदेखि नै दुवै टोलीले उत्कृष्ट प्रतिस्पर्धा देखाए पनि ग्लोबल बिजनेस कलेजका बलरहरूको रणनीति र उत्कृष्ट प्रदर्शनले अन्तिममा निर्णायक भूमिका खेल्दै खेल जित्नेमा सफल भए।
ग्लोबल बिजनेस कलेजको ब्याटिङ सुरुआत भने चुनौतीपूर्ण थियो। ओपनर रवीन्द्र कुमार कुँवर शून्यमा आउट भएपछि टीममा दबाब सिर्जना भएको थियो। त्यसपछि विवेक यादव र प्रियान्शु कर्ण पनि सस्तोमा आउट भए। यद्यपि मध्यक्रमका आदर्श भण्डारीले धैर्यपूर्ण खेल देखाउँदै टीमलाई सम्मानजनक योगफलमा पुर्याए। उनले ४५ बलमा ४३ रन बनाए, जसमा २ चौका र २ छक्का प्रहार गरेका थिए।
ज्ञानदा एकेडेमीका बलरहरूले भने बलिङमा राम्रो प्रदर्शन गरे पनि उनीहरूको १५ अतिरिक्त रनले ग्लोबल बिजनेस कलेजको स्कोर बढायो। ८९ रनको लक्ष्य पछ्याउने क्रममा ज्ञानदा एकेडेमीले सुरुआतमा नै कमजोरी देखायो। टोलीका प्रमुख ब्याट्सम्यान जय सर्राफ र विवेक प्रजापति सस्तोमा आउट भए, र बाकी ब्याट्सम्यानले लडिरहेको टीमलाई सहयोग गर्न सकेनन्।
मध्यक्रमका मुन्ना यादव र गुड्डु यादवले केही समय आशा बनाएको प्रयास गरेपनि अन्तिम ओभरहरूमा ग्लोबल कलेजका बलरहरूले दबाब राख्दै खेललाई आफ्नो पक्षमा ल्याए ।
ग्लोबल बिजनेस कलेजका बलर करण बहादुर विश्वकर्मा, राम किशुन मुखिया र नीरज रायले २-२ विकेट लिएर टोलीलाई जितको नजिक पुर्याएका थिए । विशेष गरि, ग्लोबल बिजनेस कलेजको बलिङ विभागको रणनीतिक सफलताले खेलको दिशा उल्टाए ।
समापन कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेश मान सिंहले विजेता टोलीलाई ट्रफी प्रदान गरेका थिए। एनआइ कलेज का संस्थापक निर्देशक मनिष सिंहको सभापतित्वमा भएको समापन कार्यक्रममा पर्सा क्रिकेट सङ्घका प्रतिनिधिहरूको समेत सहभागिता रहेको थियो।
आखिरमा, ग्लोबल बिजनेस कलेजले ऐतिहासिक जित हासिल गर्दै नेशनल इन्फोटेक कप २०८१ को उपाधि आफ्नो नाममा लेखायो भने, ज्ञानदा एकेडेमीले संघर्ष गरे तापनि उपविजेतामै सीमित रहनु परेको थियो।