जिल्ला प्रहरी कार्यालय पर्साका नयाँ प्रहरी उपरीक्षक गौतम मिश्रले कर्तव्य निर्वाह गर्दा इमान्दारीका साथ काम गर्ने मातहतका प्रहरीलाई पुरस्कृत गर्ने र बदमाशी गर्नेहरुलाई निर्मम कारबाही गर्ने बताएका छन्।
बिहीबार जिल्ला प्रहरी कार्यालय पर्साले आयोजना गरेको सञ्चारकर्मीहरूको परिचयात्मक र भेटघाट कार्यक्रममा बोल्दै उनले भने, "राम्रो काम गर्ने सुरक्षाकर्मीलाई पुरस्कृत गर्नेछु, तर बदमाशी गर्नेलाई निर्मम कारबाही गर्नेछु।"
प्रहरी उपरीक्षक मिश्रले पर्सामा आफ्नो कार्यकालका क्रममा देश र जनताप्रति इमान्दार भएर काम गर्ने प्रतिबद्धता जनाउँदै भने, "मैले पर्सामा शान्ति सुरक्षा कायम राख्नका लागि कुनै कसर बाँकी नराख्नेछु। शान्ति सुरक्षा कायम राख्नका लागि आइपर्ने हरेक चुनौतीको सामना गर्न म तयार छु।"
उनले १८ वर्ष अघि वीरगन्जमा प्रहरी निरीक्षकका रूपमा कार्यरत हुँदा गरेका कामहरूलाई सम्झिँदै भने, "त्यतिबेला र अहिले अपराध र अपराध गर्ने प्रवृत्तिमा धेरै परिवर्तन आएको छ। मधेसको भूगोल र नागरिकका समस्याबारे म पहिलेबाटै जानकार छु, जसले अहिले काम गर्न मलाई सहज बनाएको छ।"
प्रहरी उपरीक्षक मिश्रले सामुदायिक प्रहरी साझेदारी कार्यक्रममार्फत जिल्लाका ग्रामीण भेगमा बालविवाह, बहुविवाह, महिला हिंसा र दाइजो प्रथा जस्ता विकृतिका विरुद्ध कार्य गर्ने प्रतिबद्धता पनि जनाए। उनले स्थानीय सरकार र नागरिक समाजसँग सहकार्य गरेर जनचेतनामूलक कार्यक्रम र अभियानलाई निरन्तरता दिने बताए।
वीरगन्जलाई देशकै आर्थिक नगरीका रूपमा चिनिएको भन्दै उनले यहाँ आर्थिक अपराधका घटनाहरू हुने कुरा पनि ध्यानमा राखेका छन्। कार्यक्रमको अवसरमा पर्साका पत्रकारहरूका साथै प्रहरी नायब उपरीक्षक किशोर लम्साल र वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक निरोज चौलागाईं लगायतका अधिकारीहरूको पनि सहभागिता थियो।