जीर्ण भवनमा काम गर्नु चिकित्सक र बिरामीका लागि ज्यानको जोखिम मोल्नु सरह हो,” नारायणी अस्पतालको दयनीय अवस्थाप्रति चिन्ता व्यक्त गर्दै नेपाल चिकित्सक सङ्घका केन्द्रीय उपाध्यक्ष डा. नीरज कुमार सिंह भन्छन्। मधेस प्रदेशकै केन्द्रीय अस्पतालको जीर्ण संरचना, आधुनिक प्रविधि र दक्ष जनशक्तिको अभावले चिकित्सक, स्वास्थ्यकर्मी, नागरिक समाज तथा स्थानीयवासी आन्दोलित बनेका छन्।
शुक्रवार चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले ‘नारायणी अस्पताल पुनर्निर्माण सङ्घर्ष समिति’ गठन गर्दै अस्पताल परिसरमा आप्रोनसहित धर्ना दिएर सरकारको ध्यानाकर्षण गराएका छन्। नारायणी अस्पतालको संरचना भूकम्पीय दृष्टिले अति जोखिमयुक्त रहेको तर सरकार मौन बसेको भन्दै उनीहरूले आक्रोश व्यक्त गरेका छन्।
भवन जीर्ण, उपचार जोखिमपूर्ण
डा. सिंहका अनुसार अस्पतालको संरचना यति जीर्ण भइसकेको छ कि चिकित्सकहरू ज्यानकै बाजी लगाएर बिरामीको उपचार गर्न बाध्य छन्। “लाखौँ जनसंख्यालाई सेवा दिइरहेको यो अस्पतालमा आधारभूत पूर्वाधारसमेत छैन। आधुनिक स्वास्थ्य सेवा प्रदान गर्न नसकिने अवस्थामा हामी छौँ,” उनले भने।
नारायणी अस्पताल मधेस प्रदेशकै प्रमुख स्वास्थ्य केन्द्र हो, जसले पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिराहा तथा छिमेकी भारतका गरी करिब ३० लाख जनसंख्यालाई सेवा दिँदै आएको छ। तर, अस्पतालमा उपचारका लागि आवश्यक उपकरण, दक्ष जनशक्ति र पूर्वाधारको चरम अभाव रहेको चिकित्सकहरूको गुनासो छ।
पुनर्निर्माण योजना कानुनी विवादमा
नेपाल सरकारले आर्थिक वर्ष २०७४/७५ मा पाँच सय शय्याको नयाँ भवन निर्माण गर्ने योजना ल्याएको थियो। १ अर्ब ५५ करोड रुपैयाँ लागतमा निर्माण हुन लागेको सो भवनको टेन्डर ललितपुरको एनडीई/भीसीपीआई/एसएसएनसी कम्पनीले प्राप्त गरे पनि कर सङ्कलन प्रक्रियामा देखिएको त्रुटिका कारण सहरी विकास तथा भवन निर्माण विभाग र ठेकेदार कम्पनीबीच कानुनी विवाद उत्पन्न भयो। अहिले उक्त मुद्दा अदालतमा विचाराधीन भएकाले पुनर्निर्माण कार्य अवरुद्ध भएको छ।
सुविधा अभावले बिरामी सास्तीमा
पुरानो प्रविधिबाट सर्जरी गर्नुपर्ने बाध्यता भएकाले जटिल रोग भएका बिरामीलाई काठमाडौँ वा भारत पठाउनुपर्ने अवस्था छ। “अत्याधुनिक उपकरण छैनन्, दक्ष जनशक्ति अभाव छ, सर्जरी तथा अन्य जटिल उपचारका लागि आवश्यक पूर्वाधार छैन। यस्तो अवस्थामा बिरामीहरूले अनावश्यक सास्ती खेप्नुपरेको छ,” एक वरिष्ठ चिकित्सक भन्छन्।
राजमार्ग अवरुद्ध गर्दै सशक्त आन्दोलनको चेतावनी
पहिलो पटक चिकित्सकहरूले नेपालकै पहिलो राजमार्ग त्रिभुवन राजपथ अवरुद्ध गर्दै सरकारलाई सशक्त चेतावनी दिएका छन्। नारायणी अस्पताल अगाडि धर्ना दिएका उनीहरूले सरकार गम्भीर नभए आन्दोलनको अर्को चरण घोषणा गर्ने बताए।
डा. सिंह भन्छन्, “राजनीतिक दलहरू अनेकौँ मुद्दामा आन्दोलन गर्छन्, तर अस्पतालजस्तो संवेदनशील विषयलाई कहिल्यै प्राथमिकतामा राख्दैनन्। सरकार अझै मौन बसे थप सशक्त आन्दोलन हुन्छ।”
सरकार मौन, स्थानीय जनता निराश
यस क्षेत्रका सांसदहरूले पटक–पटक संसद्मा नारायणी अस्पतालको स्तरोन्नतिको माग उठाए पनि कुनै ठोस निर्णय हुन सकेको छैन। नागरिक समाज र राजनीतिक दलहरूले अस्पताल सुधारलाई प्राथमिकतामा नराख्दा स्थानीय जनता निराश भएका छन्।
एक शताब्दीभन्दा पुरानो नारायणी अस्पताल निजी क्षेत्र, उद्योगी, व्यापारी तथा स्थानीय समाजसेवीहरूको योगदानमा निर्माण भएको हो। तर, राज्यले यसको भौतिक संरचना सुधारको लागि कुनै ठोस कदम नचालेको चिकित्सकहरूको गुनासो छ।
तत्काल पुनर्निर्माण नभए थप कडा आन्दोलन
चिकित्सक, स्वास्थ्यकर्मी, नागरिक समाज र स्थानीय जनता नारायणी अस्पतालको पुनर्निर्माण तत्काल अघि नबढाए सशक्त आन्दोलन गर्ने तयारीमा छन्। “यो बिरामीहरूको जीवनसँग जोडिएको विषय हो,” आन्दोलनरत एक स्वास्थ्यकर्मी भन्छन्, “अब हामी झन् सशक्त आन्दोलन गर्छौँ।”
स्थानीय नागरिक, सामाजिक अभियन्ता तथा विभिन्न पेसाकर्मीहरूले नारायणी अस्पताल सुधारको मागमा ऐक्यबद्धता जनाएका छन्। आन्दोलनरत पक्षले सरकार तुरुन्तै गम्भीर नभए थप कडा आन्दोलन गरिने चेतावनी दिएका छन्।