माघ शुक्ल पञ्चमीका दिन मनाइने ‘श्री पञ्चमी’ पर्व आज विद्याकी अधिष्ठात्री देवी सरस्वतीको निष्ठापूर्वक पूजा–आराधना गरी मनाइँदै छ।
चन्द्रमाजस्तो गोरो वर्ण भएकी, हातमा वीणा र पुस्तक लिएकी देवी सरस्वतीलाई भक्तजनहरूले भारती, शारदा, हंसवाहिनी, जगन्माता, वागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिदात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले पुकार्ने गर्छन्।
विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक तथा विद्यार्थीहरूले आफ्ना कला–साधनाका वस्तुजस्तै कलम, कापी, कुची, वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजा–आराधना गर्छन्। तान्त्रिकहरूले सरस्वतीलाई तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा मान्ने प्रचलन छ।
सूर्य उत्तरतर्फ लागी दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ यस दिनलाई ‘वसन्त पञ्चमी’ पनि भनिन्छ। ऋग्वेदमा वाग्देवीका रूपमा प्रसिद्धि पाएकी ब्रह्माकी अर्धाङ्गिनी ब्रह्मायणीको पूजा उपासनाले सबै प्रकारको ज्ञान, सिद्धि र सद्बुद्धि प्राप्त हुने उल्लेख छ।
यसै कारण सरस्वती पूजालाई ठूलो महत्व दिइन्छ। आजको दिन सरस्वतीको पूजा गरी विद्याश्रम गरेमा सर्वसिद्धि प्राप्त हुने धार्मिक विश्वास छ। साथै, आजको दिन विवाह, व्रतबन्ध, गुफा राख्ने तथा बेल विवाह (इही) जस्ता धार्मिक तथा सामाजिक कार्य गर्न साइत हेर्नु नपर्ने मान्यता रहिआएको छ। यस दिन बालबालिकालाई शिक्षारम्भ गराउने र नाक–कान छेड्न पनि शुभ मानिन्छ।
वीरगञ्जका विभिन्न शैक्षिक संस्थाहरू जस्तै ठाकुरराम बहुमुखी क्याम्पस, हरिखेतान बहुमुखी क्याम्पस, वीरगञ्ज पब्लिक कलेज, त्रिजुद्ध स्कुललगायत जिल्लाभरका विद्यालय तथा शिक्षालयहरूमा आज बिहानैदेखि विद्यार्थी र शिक्षकहरू पूजाआजामा संलग्न भएका छन्। सरस्वतीलाई चढाइएको सात गेडा अक्षता निलेमा विद्या र बुद्धि स्फुरण भई विद्यादेवीबाट चेतनाको ज्योति पाइन्छ भन्ने धार्मिक विश्वास रहिआएको छ।