माघ महिना शुक्लपक्ष पञ्चमीको दिनलाई श्रीपञ्चमी अर्थात बसन्त पञ्चमी भनिन्छ । यो दिन नै सरस्वतीको पूजा पनि हुन्छ । भीषण शीतलहरबाट मुक्ति पाएर दीन दुनियाले यसै दिनदेखि बसन्त ऋतुको उष्णताको उपहार प्रकृतिबाट पाइ रमाउँछन् । भीषण शीतलहरको कठोर प्रहारबाट ओइलाएका बनस्पति तथा प्राणीहरुमा यसै दिनदेखि नवप्राण संचार भएर मुना तथा पालुवा पल्लवित हुन थाल्दछ । नवसिर्जनाको क्रममा पूष्पित भई फल धारण गर्नलाई सम्पूर्ण प्रकृति आतुर रहेको अवस्था सुरू हुन्छ ।
मदनको पञ्चसरको आघातले प्राणी जगत् पनि व्यथित हुन पुग्दछ । आँपको बगैचामा नवप्रसवित मोजरहरुबाट मधुरस प्रवाहित हुन थाल्दछ । जसमाथि भमराहरु मडारिन थाल्दछन् । कोइली चरी कुनै अज्ञात वेदनाले व्यथित भई अचानक बेतोडले कराउन थाल्छे । कोहो..कोहो..! गरेर । यस्तो मौसममा नवआगन्तुक को आयो.. को आयो...? भने झैं उसको शब्दले संकेत गर्छ । बसन्त ऋतुसित उसको पूर्व परिचय छैन क्यार ? सम्पूर्ण प्रकृति मदनमय मस्त भएको महशुस हुन्छ । कोपिलाहरु बसन्तको आगमनको सु–अवसरमा घुम्टो भित्रबाट मुसुक्क हाँस्दछन् । स्वागतम् बसन्त..स्वागतम् । फूलहरु कोमलतापूर्वक विस्तारै फक्रेर बसन्तको स्वागतमा उदारतापूर्वक उत्सर्गको निम्ति हास्दै तयार हुन्छन् । यस्तो अवस्थामा कवि कूलगुरु दीपक कालिदासले कुमार सम्भवम् महाकाव्यमा वर्णन गरे अनुसार –तपस्विनः स्थाणुवनौकसस्तामाकलिकौं वीक्ष्य मधुप्रवृत्तिम । प्रयत्नसंस्तम्भितविक्रियाणां कथञ्चिदीशा मनसा. बभूवुः ।। (सर्ग ३, श्लोक ३४) बसन्तको आगमनलाई देखेर तपस्वी पुरुषले पनि आफ्नो मनोविकार माथि अंकुश लगाएर कठीनता पूर्वक मात्र वशमा राख्न सक्दछन् । अर्थात् बसन्त आगमन कालमा कामजन्य मनोविकारमाथि बडो कठिनाइले नियन्त्रण गर्न सकिन्छ । गीतगोबिन्दकार जयदेव कविले बसन्त आगमन कालमा मानिसहरुलाई रस निमन्त्रणा गरेका छन् । त्यसैले होला नेपालका पूर्व राजाहरुद्वारा श्रीपञ्चमीका दिन हनुमानढोका दरबारको नासल चोकमा बसेर गुरुज्यू तथा नत्र्तकीहरुबाट बसन्त श्रवण गर्ने परम्परा विद्यमान रहेको थियो ।
विद्यार्थीहरुको निम्ति यो दिन वाग्देवी भगवती महासरस्वतीको पूजा अराधनाको लागि बिशेष महत्व राख्दछ । प्रायः प्रत्येक पाठशाला तथा गाउँका अन्य स्थानहरुमा पनि सरस्वती पूजाको आयोजना हुने गरेको पाइन्छ, । जसको लागि पाठशाला तथा गाउँ घरका विद्यार्थीहरुद्वारा पूजाकोलागि राशी जुटाउनकोनिम्ति हप्तौ पहिलेदेखि चन्दा उठाउने काम भएको हुन्छ । श्रीपञ्चमीको दिन बिहानै नुहाइ ध्वाइ गरेर सकभर नयाँ तथा सुकिला लुगा लगाई हातमा पूजा सामग्रीका साथ पूजास्थलमा झुम्मिएका पाइन्छन् । माटाद्वारा निर्मित सरस्वतीमाताको श्रीविग्रहको भक्तिपूर्वक पूजा आराधना गरेर आरती तथा प्रसाद लिई आफ्नो लागि अभिष्ट विद्याको याचना गर्दछन् । अभिष्ट विद्या प्रप्तिको लागि माता सरस्वतीको प्रार्थना निम्नानुसार छ–
या कुन्देन्दुतुषारहारधवला या शुभ्रवस्त्रावृता
या वीणावरदण्डमण्डितकरा या श्वेतपद्मासना ।
या ब्रह्माच्युतशंकरप्रभृतिभिर्देवैः सदा वन्दिता
सा मां पातु सरस्वती भगवती निःशेषजाड्यापहा ।।
अर्को प्रार्थना निम्नानुसारको छ–
शुक्लां ब्रह्मविचारसारपरमामाद्यां जगद्व्यापिनीं
वीणापुस्तकधारिणीमभयदां जाड्यान्धकारापहाम्
हस्ते स्फाटिकमालिकां च दधतीं पद्मासने संस्थितां
वन्दे तां परमेश्वरीं भगवतीं बुद्धिप्रदां शारदाम् ।
जसलाई प्रत्येक विद्याकांक्षी विद्यार्थीले पाठ गर्न आवश्यक हुन्छ । यस प्रार्थनाले भगवती सरस्वती देवी प्रसन्न भएर विद्या प्रदान गर्दछिन् । बस्तुतः विद्याकी देवीले जिज्ञासु तथा मेहनति जेहेन्दार विद्यार्थीहरुलाई विद्या प्रदान गर्दछिन् भन्ने मान्यता छ ।
श्री पञ्चमीको दिन किसानहरुको लागि पनि धेरै महत्वपूर्ण दिनको रुपमा रहेको छ । जन विश्वास अनुसार पुष महिनामा धर्तिमाता शुषुप्त अवस्थामा रहेकी हुन्छिन् । त्यस्तो अवस्थामा खेतको खनजोत तथा बिउ क्षरणलाई अनैतिक तथा अपमान जनक मानिन्छ । अटेर गरेर कसैले त्यस्ता दिनहरुमा खेतको खनजोत वा बिउ छर्ने गरेको पाइए पनि जमिनको निष्क्रियताले बिउको अङ्कुरण नै न भएको पाइन्छ । त्यसैको कारणले होला खरमास लाग्नुभन्दा पहिले नै किसानहरुले आप्mनो खेतमा कोदालोले कम्तिमा पाँच चोटी (छेव) खन्दछन् । श्रीपञ्चमीको दिन धर्तीमातालाई विधिवत् पूजा गरेर निन्द्राबाट ब्यूंताइन्छ जसलाई भोजपुरी भाषामा ‘हरवत’ भन्दछन् । हरवत भनेको खास भूमि पूजनको नै रुप हो । हरवतको दिन हलो गोरुले मुख्यतः खलिहान जस्तो पर्ती ठाउँमा (कूरखेत) जोतिन्छ तथा धर्ति माता ब्यूंतेको खुशियालीमा सिर्नी ( भिजाएको चामलमा गुड मिसाइ तयार पारिएको प्रसाद बिशेष) बाँडिन्छ । यसै दिन कृषि ज्यावलहरुलाई आरनमा लगेर तिखो धार लगाउन लगाउने तथा सफा–सुग्घर गराइन्छ । गर्मीयाममा लगाइने बालीहरुको लागि खेतलाई खनजोत गर्नको लागि ज्यावलहरु त तम्तयार राख्नै पर्दछ । यस कामको लागि आरन संचालन गर्नेहरुलाई ज्याला बाहेक दक्षिणा पनि दिन आवश्यक हुन्छ । श्रीपञ्चमी कै दिन गृहस्थहरुले बसन्त आगमनको सुखद उपलक्ष्यमा आफ्ना कूल देवतालाई अबिर, मसालाहरु चढाउने परम्परा रहेको छ ।
बसन्त आगमनका साथै सुख, शान्ति तथा समृद्धिकोलागि देवी देउताहरुलाई आवाह्न, निमञ्त्रण पनि गर्न आवश्यक छ । बसन्त पञ्चमीको अवसरमा नव सृजनको लागि तम्तयार सबैलाई नमन !