विश्व क्यान्सर दिवसको अवसरमा नेपाल सरकारले आजदेखि मुलुकभर पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘एचपीभी खोप’ अभियान सुरु गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, फागुन ६ गतेसम्म सञ्चालन हुने यो अभियानअन्तर्गत करिब १७ लाख किशोरीलाई खोप लगाउने लक्ष्य राखिएको छ ।
विद्यालय केन्द्रित रूपमा सञ्चालन हुने यस अभियानमा कक्षा ६ देखि १० सम्मका छात्रा तथा विद्यालयबाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका किशोरीहरूलाई लक्षित गरिएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले अभियान सफल बनाउन सबै पक्षको सहकार्य आवश्यक रहेको बताउँदै आम नागरिकलाई यसमा सक्रिय सहभागिता जनाउन आग्रह गरेका छन् ।
पर्सामा ३९ हजार किशोरीलाई खोप
स्वास्थ्य कार्यालय पर्साका प्रमुख डा. मुक्ति नारायण सिंहका अनुसार, जिल्लाका १४ वटै स्थानीय तहमा ३८ हजार ५५७ किशोरीलाई एचपीभी खोप लगाइनेछ ।
पर्सामा खोप अभियान दुई चरणमा सञ्चालन हुनेछ । पहिलो चरण माघ २२ देखि माघ २८ गतेसम्म वीरगञ्ज महानगरपालिका (वडा १–१६), पर्सागढी, पोखरिया, पटेर्वा सुगौली, जिराभवानी, सखुवा प्रसौनी र जगरनाथपुरमा सञ्चालन हुनेछ । दोस्रो चरण माघ ३० देखि फागुन ६ सम्म वीरगञ्ज महानगरपालिका (वडा १७–३२), बहुदरमाई, पकाहा मैनपुर, कालिकामाई, धोबिनी, विन्दवासिनी, छिपहरमाई र ठोरी गाउँपालिकामा सञ्चालन गरिने छ ।
वीरगञ्जबाट औपचारिक शुभारम्भ
पर्सा जिल्लामा एचपीभी खोप अभियानको औपचारिक शुभारम्भ आज बिहान वीरगञ्ज महानगरपालिका–१४, बहुअरीस्थित मदरसा तौहीदूल इस्लाम सलफिया माध्यमिक विद्यालयबाट गरिने जनाइएको छ ।
स्वास्थ्य कार्यालय पर्साका अनुसार, वीरगञ्ज महानगरपालिकाको जनस्वास्थ्य प्रवर्द्धन शाखासँगको समन्वयमा बिहान १० बजेदेखि सुरु हुने कार्यक्रममा स्थानीय जनप्रतिनिधि, स्वास्थ्य अधिकारी तथा विद्यालयका शिक्षक-शिक्षिकाहरूको उपस्थिति रहने छ ।
देशभर १८ हजार विद्यालय केन्द्र, हजारौँ स्वास्थ्यकर्मी परिचालन
स्वास्थ्य सेवा विभागका अनुसार, खोप अभियान सफल बनाउन १८ हजार ९०० विद्यालय केन्द्र र ८२०० अन्य खोप केन्द्र स्थापना गरिएका छन् । यसका लागि २७ हजार ८० स्वास्थ्यकर्मी, ५४ हजार १६० स्वयंसेवक र १५ हजार ६७४ सुपरिवेक्षक परिचालन गरिएका छन् ।
‘खोप सुरक्षित र प्रभावकारी, निर्धक्क भएर लगाउनुस्’
स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. कीर्ति अग्रवालका अनुसार, पाठेघरको मुखको क्यान्सरको प्रमुख कारण ‘ह्युमन प्यापिलोमा भाइरस’ (एचपीभी) हो, जसले ९० प्रतिशतभन्दा बढी क्यान्सर उत्पन्न गर्छ । विश्वमा सफल परीक्षण भइसकेको यो खोप सुरक्षित र प्रभावकारी रहेको उनले बताइन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार, नेपालमा हरेक दिन पाठेघरको मुखको क्यान्सरबाट चार जना महिलाको मृत्यु हुने गरेको छ। ‘ग्लोबल क्यान्सर अब्जरभेटरी, २०२२’ का तथ्यांकअनुसार हरेक वर्ष नेपालमा २१६९ महिलालाई यो क्यान्सर हुने र १३१३ महिलाको ज्यान जाने गरेको छ ।
एचपीभी खोप लगाएपछि ९० देखि ९५ प्रतिशतसम्म सुरक्षा दिने भएकाले निर्धक्क भएर लगाउन मन्त्रालयले आग्रह गरेको छ । प्रवक्ता डा. बुढाथोकी भन्छन्, ‘यो खोप विश्वका १४५ भन्दा बढी देशमा प्रयोग भइरहेको छ । विश्व स्वास्थ्य सङ्गठन र नेपाल सरकारबाट स्वीकृत भएकाले ढुक्क भएर लगाउन आग्रह गर्दछौँ ।’
नेपाल सरकारले सन् २०३० भित्र पाठेघरको मुखको क्यान्सर निवारणको लक्ष्य लिएको छ। यस अन्तर्गत १५ वर्षसम्मका ९० प्रतिशत किशोरीलाई पूर्ण रूपमा एचपीभी खोप लगाउने, ७० प्रतिशत महिलालाई ३५ र ४५ वर्षसम्ममा क्यान्सर परीक्षण गरिसक्ने तथा ९० प्रतिशत सङ्क्रमित महिलाको उपचार गर्ने योजना रहेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार, खोप लगाएपछि केही सामान्य असरहरू— सुई लगाएको ठाउँमा दुख्ने, सुन्निने, वा ज्वरो आउने हुन सक्छ, तर ती प्रभाव केही दिनमै हट्ने भएकाले चिन्ता लिनु नपर्ने बताइएको छ ।