“आजदेखि पर्सामा पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘एचपीभी खोप’ अभियान सुरु भएको छ,” यो उद्घोष वीरगञ्ज महानगरपालिका-१४, बहुअरीस्थित मदरसा तौहीदूल इस्लाम सलफिया माध्यमिक विद्यालयमा आयोजित एक कार्यक्रममा गूञ्जियो, जहाँ पर्सा जिल्लामा विशेष अभियानको औपचारिक शुभारम्भ गरिएको हो।
अभियानको शुभारम्भ कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समिति पर्साका अध्यक्ष एवं खोप समन्वय समितिका सभापति निरञ्जन प्रसाद सोनार (अजय सर्राफ) र पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल उपस्थित थिए। उनीहरूले स्वास्थ्यकर्मीहरूलाई स्वास्थ्य किट प्रदान गर्दै अभियानको औपचारिक आरम्भ गरेका थिए।
कार्यक्रममा बोल्दै, सभापति सर्राफले एचपीभी खोपलाई निकै महत्त्वपूर्ण कदम मान्दै लक्षित उमेर समूहका छात्राहरूलाई यस खोपको सुविधा प्राप्त गर्न पाउनु गौरवको कुरा रहेको बताए। उनले थपे, “अघिल्लो पुस्ताले नपाएको खोप अहिलेको पुस्ताले पाउने सौभाग्यले स्वास्थ्य सेवाको विकासको स्पष्ट संकेत दिएको छ। सबै बालिका र छात्राहरूसम्म यस खोपको पहुँच पुर्याउनु हाम्रो जिम्मेवारी हो।”
अभियानको पहिलो चरण माघ २२ देखि माघ २८ सम्म र दोस्रो चरण माघ ३० देखि फागुन ६ सम्म सञ्चालन हुनेछ। पर्सा जिल्लामा करिब ३८ हजार ५५७ किशोरीलाई एचपीभी खोप दिइने लक्ष्य राखिएको छ।
स्वास्थ्य मन्त्रालयले २०३० भित्र क्यान्सर निवारणको उद्देश्य राखेको छ र यसैका लागि १५ वर्षसम्मका ९० प्रतिशत किशोरीलाई एचपीभी खोप दिने योजना बनाइएको छ।
खोपको सुरक्षा र प्रभावकारिता सम्बन्धी स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले भने, "यो खोप १४५ भन्दा बढी देशमा सफलतापूर्वक प्रयोग गरिएको छ। नेपाल सरकारले पनि यसलाई स्वीकृति दिएको छ। यसैले अभिभावकहरूलाई खोप लगाउनमा कुनै चिन्ता लिनु पर्दैन।"
कार्यक्रममा युनिसेफ र विश्व स्वास्थ्य संगठनका प्रतिनिधिहरूसहित जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख डा. मुक्ति नारायण सिंह, खोप समन्वय समितिका संयोजक अनिल यादव लगायत अन्य व्यक्तिहरूको पनि उपस्थिती थियो।
खोपले पाठेघरको मुखको क्यान्सरको जोखिमलाई कम गर्ने महत्त्वपूर्ण भूमिका निभाउनेछ। खोप लगाएपछि केही सामान्य असरहरू जस्तै, सुई लगाएको ठाउँमा दुखाइ, हल्का ज्वरो वा शरीर थाकेको अनुभव हुन सक्छ, जुन केही दिनमै हट्छ।