"आज पर्सामा दलित अगुवा र अधिकारकर्मीहरूसँग भएको अन्तरक्रियामा भूमि समस्या समाधान आयोगले भूमिहीन दलित र सुकुम्बासीको समस्यालाई समाधान गर्न प्रतिबद्धता व्यक्त गरेको छ," प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले भने।
भूमि समस्या समाधान आयोग पर्साले आज पर्साका दलित अगुवा र अधिकारकर्मीहरूसँग भूमिहीन र अव्यवस्थित बसोबासीका मुद्दामा छलफल गर्दै, जग्गा वितरणको प्रक्रिया र मापदण्डमा सुधार ल्याउने विश्वास व्यक्त गरेको हो। प्रमुख जिल्ला अधिकारी अर्यालले पर्सा जिल्लामा कुनै पनि दबाब वा प्रभाव बिना निष्पक्ष रूपमा काम गर्ने वचन दिए।
"भूमि सम्बन्धी समस्या भूइँ मान्छेको र दलितको समस्या हो। यसलाई जिम्मेवारीपूर्वक समाधान गर्न हामी सबैले एकजुट हुनुपर्छ," उनले थपे।
कार्यक्रममा भूमि समस्या समाधान आयोग पर्साका अध्यक्ष तबरेज अहमदले पनि आफ्नो पालामा समस्यालाई तिव्र गतिमा समाधान गर्न प्रतिबद्ध रहेको बताएका थिए। उनले भने, "समस्या जसको छ, समाधानको नेतृत्व पनि त्यही समुदायको हुनुपर्छ," भन्दै दलित समुदायका अगुवा र अधिकारकर्मीहरूलाई सहयोग र समन्वय गर्न आह्वान गरे।
अध्यक्ष अहमदले आयोगको काम र प्रगति समावेश गरिएको स्मारिका प्रकाशन गर्ने तयारी भइरहेको जानकारी दिए।
पिस फर दलित फाउन्डेसनका अध्यक्ष मनोज रामले आयोगको प्रक्रिया झन्झटिलो रहेको भन्दै यसलाई सरल बनाउन सुझाव दिए। नापी कार्यालय पर्साका प्रमुख राकेश झाले आयोगले लक्षित समूह र मापदण्ड बारेमा जानकारी दिए र गलत विवरण पेश गर्ने व्यक्तिहरूलाई दण्डको चेतावनी पनि दिए।
कार्यक्रममा विभिन्न दलित समुदायका अगुवा र अधिकारकर्मीहरूको उपस्थिती रहेको थियो, र नापी कार्यालयका अधिकृत राजकुमार विश्वकर्माले कार्यक्रमको सहजीकरण गरेका थिए।