"ब्रिटिस–गोर्खा हाम्रो द्विपक्षीय सम्बन्धको महत्त्वपूर्ण कडी हो, जनस्तरको सम्बन्धलाई थप सुदृढ गर्न यसले विशेष योगदान पुर्याएको छ," राष्ट्रपति रामचन्द्र पौडेलले बेलायती राजकुमार एडवार्डसँगको भेटमा भने।
६ दिने भ्रमणका क्रममा नेपाल आएका बेलायती राजकुमार एडवार्ड र उनकी श्रीमती सोफिया मंगलबार शीतल निवासमा राष्ट्रपति पौडेलसँग शिष्टाचार भेटवार्तामा सहभागी भए। भेटमा नेपाल–बेलायत सम्बन्ध, आपसी चासोका विषय, जलवायु परिवर्तन र विकास साझेदारीबारे छलफल भएको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन्।
राष्ट्रपति पौडेलले नेपाल जलवायु परिवर्तनको प्रत्यक्ष प्रभावमा रहेको बताउँदै यसका असर न्यूनीकरणका लागि अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको उल्लेख गरे। "नेपालले सगरमाथा संवादको थालनी गर्न लागेको छ, जसको पहिलो संस्करण आगामी मे १६ देखि १८ सम्म काठमाडौंमा ‘जलवायु परिवर्तन, हिमाल र मानवको भविष्य’ विषयमा केन्द्रित हुनेछ," उनले बताए।
राष्ट्रपतिले बेलायती महारानी एलिजाबेथ द्वितीय र राजकुमार फिलिपको नेपाल भ्रमण स्मरण गर्दै बेलायतले नेपालको चौतर्फी विकासमा पुर्याएको योगदानप्रति आभार व्यक्त गरे।
राजकुमार एडवार्डले जलवायु परिवर्तनको असरबारे नेपाल भ्रमणका क्रममा थप बुझ्ने अवसर प्राप्त हुने विश्वास व्यक्त गरे। "नेपालका हिमाल र प्रकृति जलवायु परिवर्तनबाट कति जोखिममा छन् भन्ने बुझ्न म उत्सुक छु," उनले भने। साथै, उनले भविष्यमा नेपाल-बेलायत सहकार्यका क्रममा युवा र महिला सशक्तिकरणलाई प्राथमिकता दिनुपर्ने धारणा राखे।
सोही अवसरमा बेलायती सेनाको ‘गोर्खा ब्रिगेड’ का प्रमुख मेजर-जनरल जेराल्ड स्ट्रिकल्याण्डले ‘ब्रिगेड अफ गोर्खा’ को सन् २०२४ को वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष पेस गरे। राष्ट्रपति पौडेलले ब्रिटिस गोर्खा नेपाल–बेलायत सम्बन्धको महत्त्वपूर्ण आधार रहेको उल्लेख गर्दै द्विपक्षीय सम्बन्धलाई अझ मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरे।