अब पैदल यात्रु स्वयंले ट्राफिक लाइट नियन्त्रण गर्दै सुरक्षित रूपमा सडक पार गर्न सक्ने भएका छन्। काठमाडौं महानगरपालिकाले पैदल यात्रुको सुरक्षाका लागि ३६ स्थानमा ‘पेलिकन क्रसिङ’ जडान गरेको छ।
महानगरका ट्राफिक विज्ञ सल्लाहकार जगतमान श्रेष्ठका अनुसार पैदल यात्रुले बटन थिच्नेबित्तिकै केही समयका लागि सवारीसाधन रोकिनेछन्, जसले गर्दा यात्रु सहज रूपमा सडक पार गर्न सक्नेछन्।
बुधबारदेखि नयाँ प्रविधि लागू
महानगरले बुधबारदेखि बागबजारस्थित पद्मकन्या बहुमुखी क्याम्पस अगाडि पहिलो चरणमा पेलिकन क्रसिङको सञ्चालन सुरु गरेको छ। योसँगै काठमाडौंका ३६ स्थानमा पैदल यात्रुले ट्राफिक बत्ती नियन्त्रण गरेर बाटो काट्ने सुविधा पाएका छन्।
श्रेष्ठका अनुसार सडक दुर्घटना न्यूनीकरण गर्न र पैदल यात्रुको सुरक्षाका लागि यो प्रविधि जडान गरिएको हो। उनका अनुसार बटन क्रसिङ भनेको यात्रुले जबसम्म बटन थिच्दैन, तबसम्म ट्राफिक बत्ती रातो हुँदैन। एकचोटि बटन थिचेपछि निश्चित समयका लागि सवारी साधन रोकिन्छ, जसले पैदल यात्रु ढुक्कसँग बाटो काट्न सक्छन्।
स्थानीय खुशी, यात्रु सुरक्षित महसुस
सडक सुरक्षाका लागि जेब्रा क्रसिङमा ट्राफिक लाइट राखिनु उदाहरणीय कदम भएको भन्दै स्थानीयवासी खुसी देखिएका छन्। पद्मकन्या बहुमुखी क्याम्पसकी विद्यार्थी सन्ध्या बस्नेतले यो प्रविधिले सडक दुर्घटना कम हुने विश्वास व्यक्त गरिन्।
पद्मकन्या बहुमुखी क्याम्पसको जनसंख्या अध्ययन विभागकी प्रमुख भगवती सेढाईंले पैदल यात्रुको सुरक्षाका लागि यो महत्वपूर्ण कदम भएको बताइन्।
काठमाडौं महानगरपालिकाले सडक सुधार आयोजनाअन्तर्गत अन्य स्थानहरूमा पनि पेलिकन लाइट जडान गर्दै लैजाने योजना बनाएको छ।