जिल्ला प्रहरी कार्यालय, पर्साले सानो पाइला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ठगी प्रकरणमा रवि लामिछानेसहित ३५ जनाविरुद्ध अभियोग पत्र दर्ता गर्ने तयारी गरिरहेको छ। सहकारीका ४,८०० सदस्यहरूले आफ्नो बचत फिर्ता नपाएको गुनासो गर्दै उजुरी दिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको हो।
चितवन जिल्ला अदालतमा लामिछानेविरुद्ध उजुरी दर्ता भइसकेको छ। त्यहाँको कानुनी प्रक्रिया सकिएपछि पर्सा प्रहरीले जिल्ला न्यायाधिवक्ताको कार्यालयमा अभियोग पत्र दर्ता गर्ने जनाएको छ। यसैबीच, केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले समेत पर्सा जिल्ला प्रहरी कार्यालयमा आएर सहकारीसम्बन्धी उजुरीको अध्ययन गरिरहेको छ।
पूर्व डिआइजी जोशीको घरमा भेटियो प्रमाण
यसअघि वीरगञ्ज महानगरपालिका र मनीषकुमार सिस्काले पर्सा जिल्ला अदालतमा सानो पाइला सहकारीविरुद्ध दुईवटा मुद्दा दर्ता गरिसकेका थिए। ती अभियोग पत्रमा रवि लामिछानेको नाम उल्लेख थिएन। तर, पूर्व डिआइजी छविलाल जोशीको घरमा गरिएको छापामारीका क्रममा लामिछानेसँग सम्बन्धित ठगीका प्रमाण भेटिएको दाबी प्रहरीले गरेको छ। सोही आधारमा तेस्रो अभियोग पत्रमा उनको नाम समावेश गरिने तयारी गरिएको छ।
ठगी मुद्दामा संलग्न १३ जना, धरौटीमा रिहा
सहकारीबाट ठगिएको भन्दै १७९ जनाले प्रहरीमा जाहेरी दिएका थिए। सोही आधारमा हालसम्म १३ जनाविरुद्ध मुद्दा दर्ता भइसकेको छ। मुद्दा परेकामध्ये संस्थाकी पूर्व उपाध्यक्ष नेहा पौडेल स्वयं प्रहरीमा हाजिर भएकी थिइन् भने कर्मचारी राधेचन्द्र यादव पक्राउ परेका थिए। पर्सा जिल्ला अदालतले पौडेललाई १ करोड १० लाख रुपैयाँ धरौटीमा र यादवलाई ३५ लाख धरौटीमा रिहा गरिसकेको छ।
पर्सा प्रहरीले सानो पाइला सहकारीको २०७८ वैशाखदेखि साउनसम्मको बैंक विवरण जाँच गर्दा ठूलो रकम अपचलन भएको पुष्टि गरेको छ। प्रारम्भिक अनुसन्धानअनुसार २४.५ करोड अपचलन भएको देखिए पनि दोस्रो र तेस्रो मुद्दामा सो रकम बढेर झन्डै १ अर्ब रुपैयाँ पुग्ने अनुमान गरिएको छ।
विभिन्न अदालतबाट धरौटीमा रिहा भएका लामिछाने
रवि लामिछाने कास्की जिल्ला अदालतबाट ६५ लाख, रूपन्देही अदालतबाट ६० लाख, र काठमाडौं जिल्ला अदालतबाट १ करोड धरौटीमा रिहा भएका छन्। हाल उनीविरुद्ध चितवन जिल्ला अदालतमा मुद्दा दर्ता भई थुनछेक बहस चलिरहेको छ। बुधबार थुनछेक बहस नसकिएपछि उनलाई प्रहरीको जिम्मा लगाइएको थियो। आज पुनः बहस हुने अनुमान गरिएको छ।
पर्सा जिल्ला अदालतमा पनि लामिछानेलाई बयानका लागि बोलाइएको छ। पर्सा प्रहरीका प्रवक्ता, प्रहरी नायब उपरीक्षक (डीएसपी) किशोर लम्सालका अनुसार, चितवनमा परेको उजुरीको टुंगो लागेपछि पर्सामा लामिछानेविरुद्धको मुद्दा अघि बढाइनेछ।