हेटौंडा उपमहानगरपालिकाले नगर क्षेत्रबाट फोहोर संकलन तथा व्यवस्थापन कार्य स्थगित गरेको छ।
उच्च अदालत पाटन, हेटौंडा इजलासले हेटौंडा–१० राप्ती खोला तटमा बनाइएको डम्पिङ साइटमा फोहोर नफाल्न आदेश जारी गरेपछि उपमहानगरले फोहोर संकलन र व्यवस्थापन कार्य रोकेको हो।
अदालतको अन्तरिम आदेश
हेटौंडाका योगेन्द्रप्रसाद उपाध्यायले हेटौंडा उपमहानगरपालिकालाई विपक्षी बनाएर दायर गरेको निषेधाज्ञा मुद्दामा अदालतले २२ माघमा अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो। न्यायाधीश डा. निर्मला पौडेल भट्टराईको एकल इजलासले आदेश जारी गर्दै राप्ती खोला तटमा फोहोर फाल्न रोक लगाएको छ।
अदालतको आदेशमा भनिएको छ:
"हेटौंडा–१० स्थित गोरक्षश्वर मन्दिरभन्दा दक्षिणतर्फ राप्ती खोलाको तटमा फोहोर नफाल्नू, फोहोर फाल्न नलगाउनू।"
यस मुद्दामा दुवै पक्षलाई २९ माघमा छलफलका लागि अदालतमा उपस्थित हुन आदेश दिइएको छ।
स्थानीयको गुनासो
हेटौंडामा विगत लामो समयदेखि निजी संस्था ‘ग्रिन एन्ड क्लिन सिटी सर्भिसेज’ मार्फत नियमित फोहोर संकलन हुँदै आएको थियो। संकलित फोहोर हेटौंडा–१० स्थित राप्ती खोला तटमा बनाईएको डम्पिङ साइटमा व्यवस्थापन गरिँदै आएको थियो।
तर, केही दिनअघि उक्त डम्पिङ साइटमा आगलागी भएपछि स्थानीयले प्रदूषणबाट प्रभावित भएको गुनासो गरेका थिए। विशेष गरी, हेटौंडा–१० र ११ वडाका नागरिकहरूले पटक–पटक आगलागी गराएर स्वास्थ्यमा असर पुर्याइएको भन्दै आपत्ति जनाएका थिए। यही कारण, डम्पिङ साइटको विषय अदालतसम्म पुगेको हो।
अदालतको आदेशपछि हेटौंडा उपमहानगरपालिकाले वैकल्पिक व्यवस्थाबारे छलफल गरिरहेको जनाएको छ।