पर्सा जिल्लाको ऐतिहासिक स्थल पर्सागढी संरक्षण र सम्वद्र्धनको अभावमा ओझेलमा परेको छ । विस १८७१ मा इस्टइन्डिया कम्पनीसँग भएको युद्धमा नेपाल विजयी भएको स्थल पर्सागढी अहिले ओझेलमा परेको हो ।
पर्साको सदरमुकाम वीरगन्ज भन्दा २२ किलोमिटर पश्चिममा रहेको पर्सागढीको नामले जिल्लाको स्थानीय तह ‘पर्सागढी नगरपालिका’ पनि घोषणा भएको छ । तत्कालीन राजा गिर्वाणयुद्ध वीर विक्रम शाहको शासन कालमा १८७१ चैत ८ मा भीमसेन थापा, यादय गिरी, समशेर शाम, रणध्वज थापा र दलभन्जन पाण्डे मार्फत जारी भएको लालमोहरले यस गढीको ऐतिहासिक, पुरातात्विक महत्व पुष्टि गरेको छ ।
तत्कालीन युद्धमा स्थानीय रञ्जित चौधरीको उल्लेखनीय योगदान रहेको लालमोहरमा उल्लेख गरिएको पर्सागढी नगरपालिकाका अध्यक्ष लोकनारायण यादवले बताए । त्यति बेला इस्टइन्डिया कम्पनी (ब्रिटिस सरकार) ले नेपालका ५ वटा नाकाबाट आक्रमण गरेको थियो । जसमध्ये २ नाकामा ब्रिटिस तथा ३ वटा नाकामा नेपाल विजयी भएको र त्यही विजयी गढी मध्येको एक पर्सागढी भएको उनको भनाइ छ ।
पर्सागढी मन्दिरदेखि १०० मिटर दक्षिण तर्फ छेउमै रहेको छ त्यो वेलाको युद्धस्थल । युद्धस्थलमा अहिले पनि युद्धको बेला प्रयोग गरिएका सामानहरु पाइने गरेको स्थानीयहरुले बताए । ब्रिटिसि सेनाले पर्सागढी स्थलमा आक्रमण गरेपछि नेपाली योद्धाहरुले ब्रिटिस सेनाहरुलाई मारी त्यही स्थलमा गाडेका र जसको अवशेष अहिले पनि निस्कने गरेको स्थानीयको भनाई छ ।
युद्धस्थलमा रञ्जित चौधरीको कुल देवता बन्हर बाबाको मन्दिर र विजयी स्तम्भ छ । स्थानीयका अनुसार बदलिँदो राजनीतिक परिवेशमा अन्तराष्ट्रिय युद्धका विजयी योद्धाको गाथालाई इतिहासका पन्नामा सीमित पार्दै पर्सागढीको महत्वलाई बेवास्ता गरिएको छ । प्रत्येक साल बडादसैंको अवसरमा नवमी दशमीका दिन पर्सागढीमा बलिदिने परम्परा रहिआएको छ । यहाँ नवमीका दिन मेला पनि लाग्ने गरेको छ । ऐतिहासिक युद्ध २ सय वर्ष पूरा भएको सन्दर्भमा ०७२ सालमा पर्सागढी महोत्सवको आयोजना भएको गरिएको थियो । पर्सागढी नगरपालिका – ६ को बागेश्वरी तित्रौनाबाट गढीसम्म जानेबाटो कच्ची छ । खोलामा पुल छैन, सडक स्तरोन्नति गरी ग्राभेल हाल्ने योजना छ तर हुन सकेको छैन । संरक्षण र प्रवद्र्धनका लागि खोलामा पुल निर्माण आवश्यक रहेको स्थानीयको भनाइ छ ।
पर्साको मात्र नभई नेपालकै ऐतिहासिक गौरवका रूपमा रहेको यो गढी सरकारी उपेक्षामा परेको गाउँपालिका अध्यक्ष यादवले तर्क गरे । नगरपालिकाले पनि गढीको संरक्षण र प्रवद्र्धनका लागि बजेट अभावमा प्रभावकारी काम गर्न अलि नसकेको उनको भनाइ छ । विगतमा समुदाय बीचको मनमुटावले पनि यो ऐतिहासिक युद्धस्थल ओझेलमा परेको थियो । मन्त्री तथा सांसदहरू पटक–पटक गढीमा पुगी विजयी ऐतिहासिक र पौराणिक मान्यतालाई चिनाउँदै पर्यटन विकासको कुरा उठ्ने गरे पनि त्यसको प्रभावकारिता नभएको स्थानीयको दावी छ । कतिपटक भौतिक पूर्वाधार निर्माणको लागि पैसा आएपनि निर्माण कार्य हुन नसकेपछि पैसा फिर्ता गएको छ ।
तत्कालीन पर्साबाट सांसदमा विजयी अजय चौरसियाले पनि त्यस स्थलमा धर्मशाला निर्माणको लागि ३ लाख रकम छुट्याएता पनि त्यो धर्मशाला जगमै सीमित छ । आफ्नै समुदायबीच त्यस स्थललाई विकास गर्न विवाद छ । त्यस विषयलाई लिएर समुदाय मेल नभएको जानकारहरुले बताए । एउटाले निर्माण कार्य गर्न सघाउँछ त अर्को पक्षले अवरोध पु¥याउँछ । जसले गर्दा विकास निर्माणका कार्य हुन सकेको छैन । स्थानीय थारू परिवारले आफ्नो कुल देवता रहेको भन्दै मन्दिर मर्मत तथा गेट निर्माण गरेका छन् । कोही कोहीले रुखको मुनी बस्ने स्थल निर्माण गरिदिएको छ । पुजारी मन्दिरमा बस्दैनन् । कुनै कुनै दिन विहानै आउँछन्, पुजापाठ गर्छन्, अनि जान्छन् । दशैंको बेला मात्रै पुजारी त्यहाँ बस्ने गरेका छन् उनीहरुले भने ।