चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको थुनछेक आदेश आजै आउने भएको छ।
चितवनको साहारा चितवन सहकारी ठगी प्रकरण मा दायर मुद्दासम्बन्धी थुनछेक बहस समयमै सकिएकाले जिल्ला अदालत चितवनले बिहीबार नै आदेश दिने तयारी गरेको हो।
चितवन जिल्ला अदालतका न्यायाधीश दयाराम ढकालको इजलासमा बुधबार र बिहीबार दुई दिनसम्म थुनछेक बहस चलेको थियो। बहसपछि जवाफी बहससमेत सकिएकाले अदालतले आजै आदेश दिने जनाएको छ।
सहकारी ठगी प्रकरणमा बयान दिन लामिछाने बुधबार अदालतमा उपस्थित भएका थिए। तर, सो दिन थुनछेक बहस नसकिएपछि अदालतले उनलाई प्रहरीको जिम्मा लगाएको थियो।
काठमाडौं, कास्की र रुपन्देहीमा रविविरुद्ध संगठित अपराध अन्तर्गत मुद्दा दर्ता भए पनि चितवनमा भने ठगी अभियोगमा मात्रै मुद्दा चलाइएको छ।
सरकारका तर्फबाट जिल्ला न्यायाधिवक्ता रवि न्यौपाने, शम्भुकुमार बस्नेत, दशरथ पंगेनी, भोलानाथ निरौला तथा सहायक जिल्ला न्यायाधिवक्ताहरू बुद्धबहादुर थापा र अमृत सुवेदी ले बहस गरेका थिए।
त्यसैगरी, जाहेरवालाहरूका तर्फबाट वरिष्ठ अधिवक्ताहरू डा. सुरेन्द्र भण्डारी, दिनेश त्रिपाठी, राजकुमार श्रेष्ठ तथा अधिवक्ताहरू गोपिलाल देवकोटा, रमेश काफ्ले, रामचन्द्र आरसी गौतम, सुनिता अधिकारी ले बहस गरेका थिए।
प्रतिवादी रवि लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ताहरू सुशीलकुमार पन्त, जगन्नाथ पौडेल, धर्मराज आचार्य, सुरेन्द्रबहादुर थापा तथा अधिवक्ताहरू रामचन्द्र देवकोटा, डा. नारायणदत्त कंडेल ले बहस गरेका छन्।
अदालतको थुनछेक आदेशपछि लामिछाने थुनामा जाने वा छुट्ने भन्ने टुंगो आजै लाग्नेछ।