"के हो यो सामाजिक सञ्जाल नियमन विधेयक? कांग्रेसको आधिकारिक धारणा के हो? हिजो त तपाईंहरू यसको विपक्षमा उभिनुभएको थियो, आज किन मौन?" प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले सरकारले राष्ट्रिय सभामा पेस गरेको सामाजिक सञ्जाल सञ्चालन, प्रयोग र नियमनसम्बन्धी विधेयकबारे कांग्रेससँग प्रश्न उठाएका छन्।
बिहीबार प्रतिनिधि सभामा बोल्दै उनले कांग्रेस नेताहरूले अघिल्लो पटक यो विधेयकको विरोध गरेको स्मरण गराउँदै अहिले उनीहरूको धारणा के हो भनेर प्रस्ट पार्न माग गरेका हुन्।
"प्रधानमन्त्री केपी ओलीजी आलोचना सहन सक्दैनन्। उहाँले सक्नुभयो भने देशलाई आफ्नो पार्टी एमाले जस्तै प्रश्नमुक्त, आलोचनामुक्त र विवेकमुक्त बनाउन चाहनुहुन्छ। त्यसैले उहाँ अभिव्यक्ति स्वतन्त्रता कुल्चन खोज्नु अनौठो होइन," प्रचण्डले भने।
उनले नेपाली कांग्रेससँग सोधे, "तपाईंहरू सत्ताका लागि मात्रै सहकार्य गर्नुभएको हो कि राजनीतिक दृष्टिकोणमै परिवर्तन आइसकेको हो? कांग्रेसलाई पनि ओलीजीलाई जस्तै प्रश्नमुक्त नेपाल चाहिएको हो?"
प्रचण्डले कांग्रेस नेताहरूले पहिले गठबन्धनलाई "पाप" भनेको तर अहिले सत्ता साझेदारी गरिरहेको उल्लेख गरे।
"पहिले कांग्रेस एक्लै लड्ने कुरा गरिन्थ्यो, तर पछिल्लो स्थानीय चुनावमा कांग्रेस-एमालेबीच गठबन्धन मात्र होइन, चुनाव चिह्न समेत भाडामा दिइयो," उनले भने।
पत्रकार तथा व्यावसायिक संस्थाका चुनावहरूमा पनि कांग्रेस-एमालेबीच गठबन्धन भएको उल्लेख गर्दै उनले थपे, "तपाईंहरूलाई लागेको थियो, माओवादी सकिन्छ। तर, माओवादी झन् बलियो भएर पहिलो पार्टीको रूपमा पुनरोदय भयो।"