साविक विजेता लिभरपुलले टोटेनहमलाई पराजित गर्दै क्याराबाओ कपको फाइनलमा स्थान सुरक्षित गरेको छ। पहिलो लेगमा १-० ले पछि परेको अवस्थामा दोस्रो लेगमा उत्कृष्ट प्रदर्शन गर्दै लिभरपुलले ४-० को शानदार जित दर्ता गर्न सफल भएकाे हाे ।
एनफिल्डमा सम्पन्न दोस्रो लेगमा लिभरपुलले खेलको सुरुदेखि नै टोटेनहममाथि दबाब बनाइरहेकेा थियाे । खेलको ३४औं मिनेटमा यिभ्स बिस्सौमाले मध्य मैदानमा बल गुमाएपछि मोहम्मद सालाहले उत्कृष्ट क्रस दिए, जसमा डार्विन नुनेज चुके पनि कोडी गाक्पोले रिपाउन्डमा गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए।
दोस्रो हाफ सुरु भएको पाँच मिनेटमै गोलकिपर एन्टोनिन किन्स्कीले नुनेजलाई लडाएपछि लिभरपुलले पेनाल्टी प्राप्त गर्यो। सालाहले मौका सदुपयोग गर्दै लिभरपुलको अग्रता दोब्बर बनाए।
टोटेनहमले खेलमा फर्किने कुनै संकेत देखाएन। खेलको अन्त्यतिर डोमिनिक सोबोस्लाईले कोनर ब्राडलीको क्रसमा गोल गर्दै लिभरपुलको जित सुनिश्चित गरे। अन्तिम समयमा भर्जिल भान डाइकले कर्नरबाट हानेको हेडर गोलमा परिणत भएपछि लिभरपुलको जीत झन् सानदार बन्यो।
अब लिभरपुलले १६ मार्चमा वेम्ब्ली रंगशालामा न्यूकासल युनाइटेडसँग उपाधि रक्षा गर्नेछ।
लिभरपुलको उपाधि यात्राको पहिलो खुड्किलो
लिभरपुलका प्रशिक्षक आर्ने स्लटका लागि यो उपाधि पहिलो हुनेछ। लिभरपुल यस सिजन शानदार लयमा छ, प्रिमियर लिगको शीर्ष स्थानमा रहँदै एफए कप र च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गरिसकेको छ।
क्याराबाओ कप चारमध्ये सबैभन्दा कम महत्त्वपूर्ण प्रतियोगिता मानिए पनि यो उपाधि जित्न सके लिभरपुलको यो सिजन ऐतिहासिक बन्न सक्छ।
टोटेनहमको निराशाजनक प्रदर्शन, उपाधिको सपना टुट्यो
१७ वर्षदेखि कुनै ठूलो उपाधि जित्न नसकेको टोटेनहमका लागि यो प्रतियोगिता ठूलो अवसर थियो। पहिलो लेगमा अग्रता लिएर आएका टोटेनहम समर्थकहरू उपाधिको आशामा थिए, तर टोलीको प्रदर्शन अत्यन्तै निराशाजनक रह्यो।
एन्जे पोस्टेकोग्लुको आक्रामक शैलीको खेल टोटेनहमले देखाउन सकेन। उनीहरूले खेलभरि ३५.९% मात्र बल पोजेसन राखे र पूरै ९० मिनेटमा एक पनि सट अन टार्गेट प्रहार गर्न सकेनन्, जुन पोस्टेकोग्लु नेतृत्वमा पहिलो पटक भएको थियो।
टोटेनहमका लागि झन् समस्या थपिँदै गएको छ। ब्राजिलियन स्ट्राइकर रिचार्लिसन घाइते भई मैदानबाट बाहिरिएपछि टोटेनहमको चोट समस्या अझै गम्भीर बनेको छ। नयाँ खेलाडी माथिस टेलले आफ्नो डेब्यु गरे पनि टोलीको प्रदर्शनमा सुधार आउन सकेन।