वीरगन्जमा शनिबार मधेस प्रदेश स्तरीय प्रज्ञा–नारी काव्य सङ्गोष्ठी २०८१ सम्पन्न भएको छ। भोजपुरी प्रतिष्ठान (वीरगन्ज महानगरपालिका) र नेपाल प्रज्ञा–प्रतिष्ठान साहित्य (काव्य/पद्य) विभागको सहकार्यमा आयोजित उक्त कार्यक्रममा मधेस प्रदेशका विभिन्न जिल्लाबाट सहभागी कवयित्रीहरूले उत्कृष्ट कविता वाचन गरेका थिए। वीरगन्जको त्रिजुद्ध माविमा भोजपुरी प्रतिष्ठानकी अध्यक्ष अनिता साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि नेपाल प्रज्ञा–प्रतिष्ठान (काव्य/पद्य) विभाग प्रमुख बाबा बस्नेतले माता सरस्वतीको तस्बिरमा अबिर अर्पण गर्दै औपचारिक उद्घाटन गरेकी थिइन्।
सङ्गोष्ठीमा सहभागी कवयित्रीहरूले आफ्ना सशक्त प्रस्तुतिहरू मार्फत महिलाहरू केवल भान्सा र घरको काममा मात्र सीमित हुने परम्परागत सोचलाई तोड्दै साहित्य क्षेत्रमा समेत उनीहरूको महत्वपूर्ण योगदान रहेको दर्शाएका थिए। कार्यक्रममा सर्लाहीबाट सुमित्रा आचार्य, महोत्तरीबाट मञ्जु मञ्जुभाषिणी, सप्तरीबाट मिन्टु पटेल, रञ्जना झा, धनुषाबाट पूनम झा “मैथिली”, रौतहटबाट रेणुका जी.सी., बाराबाट रीता चौधरी, सीता अधिकारी, राज श्री, पर्साबाट अनु कुमारी मेहता, मञ्जु कुमारी कोइराला, सीता शर्मा पन्थी, अस्मिता पटेल, उर्मिला गिरी र सानिया हाडाले कविता वाचन गरेका थिए।
सङ्गोष्ठीमा मधेस प्रदेशको साहित्य क्षेत्रमा महिलाहरूको अवस्थाबारे गीता भण्डारीले कार्यपत्र प्रस्तुत गरेकी थिइन् भने शोभा कुमारी पटेलले उक्त कार्यपत्रमाथि टिप्पणी गरेकी थिइन्। कार्यक्रममा प्रज्ञा प्रतिष्ठान महाशाखा प्रमुख संध्या पहाडी, भोजपुरी प्रतिष्ठान वीरगन्जका सल्लाहकार गोपाल अश्क, वरिष्ठ साहित्यकार मुकुन्द आचार्य, भोजपुरी प्रतिष्ठान बाराका अध्यक्ष रामप्रसाद साह, प्रमोद पाण्डे तथा विभिन्न क्षेत्रका साहित्य प्रेमीहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको स्वागत मन्तव्य प्रतिष्ठानका कार्यसमिति सदस्य अमोद गुप्ताले गरेका थिए भने सहजीकरण माधुरी महतोले गरेकी थिइन्।