जनता समाजवादी पार्टी (नेपाल) का अध्यक्ष उपेन्द्र यादवले आफूहरू सरकारमा सहभागी हुने विषयमा कुनै बार्गेनिङ नगरेको स्पष्ट पारेका छन्।
आइतबार सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा बसेको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भने, “यस्ता फोहोरी र फटाहा कुरा गर्ने मान्छेको पनि कुरा गर्ने त? हामी अहिले सरकारमा जाने अवस्थामा छैनौं। हामीलाई मन्त्रालय चाहिएन।”
उनले अध्यादेशबारे पार्टीले धारणा बनाइसकेको उल्लेख गर्दै संसद्को कार्यसूचीमा परेपछि मात्र निर्णय लिने बताए।
अध्यादेशमाथि जसपाको निर्णायक भूमिका
सरकारले हिउँदे अधिवेशनअघि ल्याएका ६ वटा अध्यादेश संसद्को कार्यसूचीमा चढ्न सकेका छैनन्। जसपा नेपाल राष्ट्रियसभामा निर्णायक देखिएकाले यी अध्यादेश पारित हुने वा नहुने विषयमा पार्टीको निर्णय महत्त्वपूर्ण हुनेछ।
यादवका अनुसार पार्टीले विभिन्न विज्ञहरूसँग छलफल गरी धारणा तय गरिसकेको छ। “हाम्रो सोच सकारात्मक छ। हामी सिर्जनात्मक रूपमा देश र जनताको पक्षमा सोच्दैछौं। सरकारले कार्यसूचीमा राख्नेबित्तिकै हाम्रो निर्णय हुन्छ,” उनले भने।
सरकार बाधक भएको आरोप
उनले अध्यादेश रोक्न आफूहरूको कुनै भूमिका नरहेको जिकिर गर्दै सरकारकै कारण कार्यसूचीबाट हटाइएको आरोप लगाए।
“हाम्रो निर्णयका कारणले अड्किएको होइन। हाम्रो कार्यदलले रिपोर्ट दिने क्रममा सरकारकै कारण कार्यसूचीबाट हटाइयो। बाधक हामी होइन, सरकार नै हो,” यादवले थपे।
संविधानअनुसार, अधिवेशन सुरु भएको पहिलो दिन अध्यादेश पेस गर्नुपर्ने तथा दुवै सदनबाट ६० दिनभित्र प्रतिस्थापन विधेयक पारित गरी ऐनमा रुपान्तरण गर्नुपर्ने संवैधानिक बाध्यता छ। अन्यथा, ती अध्यादेश स्वतः निष्क्रिय हुनेछन्।