वीरगञ्ज फेरि फुटबलमय बन्ने भएको छ। मधेस प्रदेशकै सर्वाधिक धनराशी पुरस्कार रहेको दोस्रो वीरगञ्ज गोल्डकप २०८१ आगामी फागुन १७ देखि २४ गतेसम्म वीरगञ्जको आदर्शनगर रंगशालामा आयोजना गरिने भएको छ। भेट्रान सिटी क्लब वीरगञ्जको आयोजनामा हुने यो प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका आठ टोलीले प्रतिस्पर्धा गर्नेछन्।
फुटबल संस्कृति पुनः जागरणको प्रयास
भेट्रान सिटी क्लब वीरगञ्जका अध्यक्ष सबिन बस्नेतका अनुसार यो प्रतियोगिता मधेस प्रदेशमा फुटबल खेलको संस्कृति पुनः जागृत गर्न महत्वपूर्ण हुनेछ।
"विगतमा वीरगञ्ज फुटबलको केन्द्र मानिन्थ्यो, तर पछिल्लो समय गतिविधि सुस्ताउँदै गए। त्यसैले खेलकुद प्रवर्द्धन गर्न हामीले यो गोल्डकप आयोजना गर्न लागेका हौं," बस्नेतले भने।
नकआउट चरणमा खेलाइने यस प्रतियोगितामा 'ए' डिभिजन क्लबहरूसहित भारतको टोलीले समेत सहभागिता जनाउने छन्। प्रतियोगितामा संकटा फुटबल क्लब, मछिन्द्र फुटबल क्लब, नेपाल पुलिस क्लब, बागमती युथ क्लब सर्लाही, एपिआई चर्च ब्वाइज युनाइटेड काठमाडौं, सलहेश फुटबल क्लब सिरहा, गरवाल डाइमण्ड फुटबल क्लब दिल्ली र आयोजक वीरगञ्ज युनाइटेड क्लबले प्रतिस्पर्धा गर्नेछन्।
विजेतालाई ११ लाख, उपविजेतालाई ५.५ लाख नगद पुरस्कार
प्रतियोगिता संयोजक तथा क्लबका कोषाध्यक्ष सुबोधकुमार श्रीवास्तवका अनुसार विजेता टोलीलाई ११ लाख ११ हजार १११ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। उपविजेताले ५ लाख ५५ हजार ५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।
"प्रतियोगिता सम्पन्न गर्न करिब एक करोड रुपैयाँ खर्च लाग्नेछ। वीरगञ्ज महानगरपालिका मुख्य प्रायोजक रहेको छ भने अन्य संस्थाहरूको पनि सहयोग रहनेछ," श्रीवास्तवले बताए।
रंगशाला र प्याराफिट निर्माणको तयारी अन्तिम चरणमा
प्रतियोगिता सञ्चालनका लागि आदर्शनगर रंगशालाको मैदान मर्मत कार्य अन्तिम चरणमा पुगेको छ।
"दुई महिनादेखि मैदानको मर्मत कार्यलाई तीव्रता दिइएको छ। प्रतियोगिता सफल बनाउन अस्थायी प्याराफिट निर्माण भइरहेको छ, जसले करिब दुई हजार दर्शक अटाउने क्षमता राख्छ," श्रीवास्तवले बताए।
वीरगञ्जमा हराउँदै गएको फुटबल संस्कृतिलाई पुनः जागृत गर्ने प्रयास
पहिले वीरगञ्जमा सहिद तेजबहादुर अमात्य गोल्डकप, विशाल मेमोरियल गोल्डकप जस्ता प्रतिष्ठित प्रतियोगिताहरू हुन्थे। तर, पछिल्ला वर्षहरूमा त्यस्ता गतिविधि घट्दै गएका छन्।
"स्थानीय प्रतियोगिताले खेलाडीहरूलाई आफ्नो प्रतिभा देखाउने अवसर दिन्छ। वीरगञ्ज गोल्डकपले यहाँको हराउँदै गएको फुटबल संस्कृतिलाई पुनः जीवित गर्नेछ," बस्नेतले भने।
गत वर्ष कात्तिकमा सम्पन्न पहिलो वीरगञ्ज गोल्डकपको उपाधि नेपाल पुलिस क्लबले जितेको थियो भने नेपाल आर्मी क्लब उपविजेता बनेको थियो।