सरकारले संसदमा दर्ता गराएको सामाजिक सञ्जाल सञ्चालन, प्रयोग र नियमनसम्बन्धी विधेयकको विरोधमा जनकपुरधाममा मसाल जुलुस निकालिएको छ। नेकपा (माओवादी) निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका कार्यकर्ताहरूले आइतबार साँझ रामानन्द चोकमा मसाल बालेर सरकारविरुद्ध प्रदर्शन गरेका हुन्।
"विधेयकले लोकतन्त्रलाई कमजोर पार्ने"
प्रदर्शनका क्रममा अखिल क्रान्तिकारीका पूर्व केन्द्रीय सदस्य श्याम साहले यो विधेयकले अभिव्यक्ति स्वतन्त्रतामाथि प्रहार गर्ने बताए।
"सरकारले बोल्न, लेख्न वा अरूको पोस्ट लाइक वा शेयर गरेकै भरमा दण्ड दिने कानुनी व्यवस्था गर्न खोज्दैछ। यो लोकतान्त्रिक मूल्य–मान्यताको उल्लंघन हो," साहले भने।
उनले सामाजिक सञ्जाल नियमनको नाममा नागरिक स्वतन्त्रता हनन गर्न नदिने चेतावनी दिए।
"विधेयक फिर्ता नभए आन्दोलन चर्किने"
विद्यार्थी संगठनका नेताहरूले सरकारले यो विधेयक फिर्ता नलिए थप आन्दोलन गर्ने बताएका छन्।
"हामी कानुनी लडाइँ मात्र होइन, सडक संघर्ष गर्न पनि पछि पर्ने छैनौं। सदन घेर्ने कार्यक्रमसम्म अगाडि बढ्छ," साहले भने।
विद्यार्थीहरूले सामाजिक सञ्जाल प्रयोगमा अनावश्यक नियन्त्रण गर्न खोजिएको भन्दै विधेयक खारेजीको माग गरेका छन्। देशभर नै यसबारे बहस चलिरहँदा विद्यार्थीहरूको मसाल जुलुसले जनकपुरमा विरोधलाई थप उर्जा दिएको देखिन्छ।