"पाठेघरको मुखको क्यान्सर नेपालमा धेरै महिलाको मृत्युको कारण बनेको छ। यो खोप लगाउनु भनेको आफ्नो भविष्य सुरक्षित गर्नु हो," स्वास्थ्य कार्यालय पर्साका प्रमुख डा. मुक्तिनारायण सिंह भन्छन्। उनका अनुसार, पर्सा जिल्लामा पहिलो चरणमा १५ हजार १५५ किशोरीले एचपीभी खोप लगाएका छन्, तर अझै धेरै किशोरीहरू खोपबाट छुटेका छन्।
स्वास्थ्य कार्यालय पर्साका अनुसार, माघ २२ देखि २८ गतेसम्म सातवटा पालिकामा खोप अभियान सञ्चालन गरिएको थियो। सखुवाप्रसौनी गाउँपालिकामा २,०९३, जिराभवानीमा १,०५६, पटेर्वासुगौलिमा १,२४६, पोखरियामा १,९०३, वीरगञ्जमा ५,७६९, पर्सागढीमा १,५८८ र जगरनाथपुरमा १,५०० जनाले खोप लगाएका छन्।
आज (माघ ३०) बाट दोस्रो चरणको खोप अभियान सुरू भएको छ, जुन फागुन ६ गतेसम्म चल्नेछ। यस चरणमा बिन्दबासिनी, कालिकामाई, ठोरी, धोबिनी, छिपहरमाई, पकहाँमैनपुर र बहुदरमाईका किशोरीहरूले खोप पाउनेछन्। डा. सिंहका अनुसार, पहिलो चरणमा छुटेकाहरूलाई पनि यस चरणमा समेटिनेछ।
नेपाल सरकारले सन् २०३० भित्र पाठेघरको मुखको क्यान्सर निवारण गर्ने लक्ष्य राखेको छ। सोही योजना अनुरूप, १५ वर्षसम्मका ९० प्रतिशत किशोरीलाई एचपीभी खोप दिने लक्ष्य राखिएको छ।
स्वास्थ्य विशेषज्ञहरूका अनुसार, यो क्यान्सरको प्रमुख कारण ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) हो। नेपालमा हरेक दिन चार जना महिलाको मृत्यु हुने यो रोग रोक्न एचपीभी खोप प्रभावकारी रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
डा. सिंहले अभिभावकहरूलाई आग्रह गर्दै भने, "यो खोप सुरक्षित छ, असरकारक छ। आफ्ना छोरीहरूको भविष्य बचाउन खोप लगाउन नबिर्सनुहोस्।"