बैंक तथा वित्तीय संस्थाको सेवा प्रवाह प्रभावकारी बनाउन पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले सम्बन्धित निकायलाई स्पष्ट निर्देशन दिएका छन्। सेवाग्राहीले सहज र मैत्रीपूर्ण सेवा प्राप्त गर्नुपर्नेमा उनले विशेष जोड दिए।
बुधबार वीरगन्जको आदर्शनगरस्थित नेपाल राष्ट्र बैंकको सभाकक्षमा आयोजित अन्तरक्रियामा प्रमुख जिल्ला अधिकारी अर्यालले बैंक तथा वित्तीय संस्थाका शाखा प्रमुख तथा प्रतिनिधिहरूलाई सेवा प्रवाहमा सुधार ल्याउन आग्रह गरे। उनले भने, "बैंकहरूको सेवामा झन्झटिलो प्रक्रिया, अनावश्यक ढिलाइ र सेवाग्राहीलाई हैरान बनाउने प्रवृत्तिबारे गुनासा आएका छन्। अबदेखि सेवाग्राहीलाई अनावश्यक दुःख नदिई, सेवा सहज बनाउनु आवश्यक छ।"
कर्जा असुली प्रक्रियामा संवेदनशीलता आवश्यक
कर्जा प्रवाह, असुली तथा धितो लिलाम प्रक्रियामा पारदर्शिता अपनाउन निर्देशन दिँदै प्रमुख जिल्ला अधिकारी अर्यालले बैंक कर्मचारीहरूलाई ऋणीहरूसँग संवेदनशील व्यवहार गर्न अनुरोध गरे। "ऋणीलाई सार्वजनिक रूपमा लज्जित बनाउने, उनीहरूको सामाजिक हैसियत नबुझी जबरजस्ती कर्जा असुलीका गतिविधि गर्ने काम ठिक होइन," उनले थपे।
कर्जा असुलीका क्रममा मृत्युसंस्कारमा रहेका, विवाह समारोहमा व्यस्त वा अन्य सामाजिक कार्यक्रममा संलग्न ऋणीहरूको फोटो खिच्ने, पसल तथा उद्योगमा ताल्चा लगाउने, गाडीको चाबी खोस्ने जस्ता क्रियाकलाप अस्वीकार्य रहेको भन्दै उनले बैंक व्यवस्थापनलाई यस्तो व्यवहार रोक्न निर्देशन दिए।
संवादबाट समस्या समाधान गर्न सुझाव
ऋणीसँग संवाद गरी कर्जा असुलीका समस्या समाधान गर्न सकिने बताउँदै प्रमुख जिल्ला अधिकारी अर्यालले बैंकहरूले सधैं कठोर नीति मात्रै अपनाउनु उपयुक्त नहुने धारणा राखे। "कहिलेकाहीँ ऋणीलाई अनावश्यक टर्चर दिँदा उनीहरूले अप्रिय निर्णय लिनसक्ने खतरा रहन्छ, त्यसैले बैंकहरूले संवेदनशील ढंगले व्यवहार गर्नुपर्छ," उनले स्पष्ट पारे।
बैंक तथा वित्तीय संस्थाहरूको सहभागिता
नेपाल राष्ट्र बैंक वीरगन्जका निर्देशक सुशील पौडेलको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको प्रमुख आतिथ्यतामा सम्पन्न अन्तरक्रियामा पर्सा जिल्लाका ९३ वटा बैंक तथा वित्तीय संस्थाका शाखा प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो। कार्यक्रममा भूमि समस्या समाधान आयोग पर्साका अध्यक्ष तबरेज अहमद, पर्सा जिल्ला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष हरेराम पटेल, पर्साका प्रहरी उपरीक्षक गौतम मिश्र, सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल, गैसस महासंघ पर्साका अध्यक्ष छठु साहलगायतको उपस्थिति रहेको थियो।