भारतको ओडिसा राज्यस्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत एक नेपाली विद्यार्थी मृत अवस्थामा फेला परेकी छन्। बुटवलकी २१ वर्षीया प्रकृति लम्साल बी-टेक तेस्रो वर्षमा अध्ययनरत थिइन्।
कलेज प्रशासनले लम्सालले आत्महत्या गरेको दाबी गरेको छ। भारतीय सञ्चारमाध्यम द न्यू इण्डियन एक्सप्रेस ले कलेजको विज्ञप्ति उद्धृत गर्दै उनी प्रेमसम्बन्धमा रहेको र त्यससँग सम्बन्धित कारणले आत्महत्या गरेको हुनसक्ने उल्लेख गरेको छ। तर, घटनाबारे विभिन्न काेण बाट उठेका शंकाले यो केवल आत्महत्याको मामिला मात्र नभएको अनुमान लगाउन सकिन्छ।
दुर्व्यवहार र कलेज प्रशासनको लापरबाहीको आरोप
ओडिसाको संवाद पत्रिकाको अंग्रेजी संस्करणले भने लम्साल केही समयदेखि मानसिक तनावमा रहेको र उनी एक पुरुष साथीबाट दुर्व्यवहारको शिकार भएकी हुनसक्ने जनाएको छ। सामाजिक सञ्जाल एक्स (पहिलेको ट्विटर) मा भाइरल भएको थ्रेडमा लम्सालले कलेजको अन्तर्राष्ट्रिय सम्बन्ध कार्यालय (आईआरओ) मा आफूलाई गरिएको दुर्व्यवहारबारे जानकारी गराएको दाबी गरिएको छ।
"उनले सहयोग मागेकी थिइन्, मानसिक यातना सहन नसक्ने अवस्थामा पुगेकी थिइन्। तर, कलेज प्रशासनले कुनै कदम चालेन," थ्रेडमा लेखिएको छ। थ्रेडमा घटनालाई आत्महत्याको रूपमा मात्रै बुझ्न नहुने र कलेज प्रशासनको लापरबाहीका कारण पनि उनको जीवन गुम्नुपरेको उल्लेख गरिएको छ।
विद्यार्थीको आक्रोश र कलेज प्रशासनको दबाब
घटनापछि केआईआईटी कलेजमा नेपाली विद्यार्थीहरूसहित अन्य विद्यार्थीले प्रदर्शन सुरु गरेका थिए। तर, प्रशासनले सुरक्षागार्ड र होस्टल वार्डेन परिचालन गरी प्रदर्शनलाई दबाउने प्रयास गरेको बताइएको छ। स्थिति बिग्रँदै गएपछि कलेजले प्रहरी बोलाएर अवस्था नियन्त्रणमा ल्याएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
प्रदर्शन बढ्दै जाँदा नेपाली विद्यार्थीहरूसँग कलेज प्रशासनले छलफल गरेको छ। उनीहरूलाई परिस्थिति सामान्य नभएसम्म बिदा बस्न भनिएको छ। लम्सालको शव पोष्टमार्टमका लागि क्यापिटल अस्पताल पठाइएको छ भने घटनाबारे विस्तृत अनुसन्धान भइरहेको बताइएको छ।
के यो आत्महत्या मात्रै हो ?
लम्सालको मृत्यु आत्महत्या हो वा योजनाबद्ध हत्या भन्ने विषयमा अहिले गहिरो अनुसन्धान हुन आवश्यक देखिएको छ। यदि उनले कलेज प्रशासनलाई पहिल्यै दुर्व्यवहारबारे जानकारी गराएकी थिइन् भने किन समयमै सुरक्षा दिइएन? नेपाली विद्यार्थीहरूको सुरक्षाको विषयमा नेपाली सरकार र कलेज प्रशासनले कस्तो कदम चाल्नेछ भन्ने अहिलेको प्रमुख प्रश्न हो।
नेपाल सरकार र सम्बन्धित निकायले भारतीय पक्षसँग गम्भीर वार्ता गरी घटनाको निष्पक्ष छानबिन गराउनुपर्ने माग नेपाली विद्यार्थीहरूबाट उठ्न थालेको छ। यदि कलेज प्रशासनकै लापरबाहीका कारण यस्तो घटना भएको हो भने दोषीहरूलाई कारबाही गर्न आवश्यक छ।