सोमबारदेखि काठमाडौंमा सुरू भएको अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा म्यानमारले विजयी सुरूवात गरेको छ। दशरथ रंगशालामा सम्पन्न खेलमा म्यानमारले लेबनानलाई ३-१ को अन्तरले पराजित गरेको हो।
पहिलो हाफ गोलरहित, दोस्रो हाफमा चार गोल
खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। म्यानमारले पहिलो हाफमै धेरै अवसर सिर्जना गरे पनि सदुपयोग गर्न सकेन। लेबनानकी गोलरक्षक मार्सेल सिकीले उत्कृष्ट बचाउ गर्दै टोलीलाई बचाइन्।
लेबनानले पनि पहिलो हाफमै अग्रता लिने सुनौलो अवसर गुमाएको थियो। लेला इस्कानडरले गोलकिपरलाई बिट गर्दै गरेको प्रहार बारमा लागेर फर्किएको थियो।
म्यानमारको अग्रता, लेबनानको बराबरी र अन्तिम दुई गोल
खेलको ५७औं मिनेटमा म्यानमारकी कप्तान विन थेइङ्गगी तुनले उत्कृष्ट गोल गर्दै टोलीलाई अग्रता दिलाइन्। मे हेट मोन माइन्टको पासलाई सदुपयोग गर्दै उनले एजबाट उत्कृष्ट प्रहार गर्दै गोल गरिन्।
तर, त्यसको तीन मिनेटमै लेबनानकी लेला इस्कानडरले बराबरी गोल फर्काइन्। मध्यभागबाट आएको पासलाई उनले गोलकिपरसँग वान भर्सेस वानको अवस्थामा बिट गर्दै गोल गरिन्।
तर, खेलको ७२औं मिनेटमा यु पेर खिनेको क्रसमा स्वे यी तुनले हेडमार्फत गोल गर्दै म्यानमारलाई पुनः अग्रता दिलाइन्।
७५औं मिनेटमा सान थव थवले अर्को गोल थप्दै म्यानमारको जित सुनिश्चित गरिन्।
अब साँझ ६ बजे नेपाल र किर्गिस्तानबीच खेल हुनेछ।