प्रतिनिधिसभाको सोमबारको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले आकस्मिक समय माग गरे पनि सभामुख देवराज घिमिरेले समय नदिएको भन्दै बैठकबाट बाहिरिएकी छन् ।
सभामुख घिमिरे शून्य समयको कार्यसूचीतर्फ अघि बढिरहेका बेला श्रेष्ठले आसनमाथिको टेबल ढ्याढ्याप गर्दै बोल्ने समय माग गरेकी थिइन्। तर, सभामुखले नियमअनुसार समय लिएर मात्र बोल्न पाइने भन्दै उनलाई रोके।
"समय पाउँदा मात्रै बोल्न पाइन्छ, समय नपाउँदा नियम पालना गर्नुपर्छ," सभामुख घिमिरेले भने। तर, सांसद श्रेष्ठले नेपाली विद्यार्थीको सुरक्षासम्बन्धी गम्भीर विषय उठाउनुपर्ने भन्दै आग्रह गरिरहिन्।
श्रेष्ठले भारतको ओडिशा राज्यस्थित केआईआईटी विश्वविद्यालयमा नेपाली विद्यार्थीको मृत्यु र त्यसपछि नेपाली विद्यार्थीमाथि भएको दुर्व्यवहारबारे सरकारको ध्यानाकर्षण गराउन चाहेको बताइन्।
"मैले सभामुखलाई बैठकअघि नै भेटेर समय मागेकी थिएँ। उहाँले परराष्ट्र मन्त्रीलाई जानकारी गराउन भन्नुभयो, तर म त्यही विषयमा ध्यानाकर्षण गराउन समय माग्दै थिएँ," सांसद श्रेष्ठले भनिन्।
श्रेष्ठका अनुसार झण्डै १२०० नेपाली विद्यार्थीलाई जबरजस्ती निष्कासन गरिएको छ। "विद्यार्थीहरू भारतस्थित दूतावास र परराष्ट्र मन्त्रालयको वेवास्ताबाट निराश छन्। यस्तो अवस्थामा पनि संसदमा बोल्न नपाउनु दुःखद् छ," उनले थपिन्।
नियमावलीले अनुमति दिने, कार्यव्यवस्था समितिले रोक्ने
प्रतिनिधिसभा नियमावलीको नियम १५ अनुसार सांसदले टेबल ढ्यापढ्याप गरेर आकस्मिक समय माग गर्न सक्ने उल्लेख छ। तर, कार्यव्यवस्था समितिले बैठकअघि नै नाम टिपाउनुपर्ने निर्णय गरेको भन्दै सभामुखले समय नदिएको बताइएको छ।
तर, आइतबारको बैठकमा नेपाली कांग्रेसकी सांसद प्रतिमा गौतमलाई बिना नाम टिपाइएको समय दिइएको थियो। त्यसैगरी, माघ २९ गतेको बैठकमा एमाले सांसद इश्वरी घर्तीलाई पनि आकस्मिक समय दिइएको थियो। श्रेष्ठलाई भने महत्त्वपूर्ण विषय हुँदाहुँदै पनि रोकिएको भन्दै विरोध भइरहेको छ।
श्रेष्ठले आफूले उठाउन चाहेको विषय नेपालका विद्यार्थीमाथि भएको अन्याय र उनीहरूको सुरक्षा रहेको बताइन्। "नेपाली विद्यार्थीमाथि अन्याय हुँदा पनि सभामुखले बोल्न दिएनन्," उनले भनिन्।