‘खेलाडीहरूले योजना बुझ्न सकेनन्, मैले बुझाउन सकिन होला,’ नेपालका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले किर्गिस्तानविरुद्धको १–० को जितपछि प्रतिक्रिया दिए। दशरथ रंगशालामा सोमबार सम्पन्न खेलमा नेपालले पहिलो हाफमै अग्रता लिए पनि खेलभर थप गोल गर्न सकेन।
नेपालका लागि १०औं मिनेटमा विमला चौधरीको गोल निर्णायक बन्यो। जित निकाल्दै नेपालले चारदेशीय अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको सुखद सुरुवात गर्यो। तर अपेक्षाअनुसारको सहज जित हासिल गर्न नसकेको प्रशिक्षक तामाङ स्वयंले स्वीकारे।
६ वर्षअघि किर्गिस्तानमै ८–२ को शानदार जित निकालेको नेपालका लागि यसपटकको खेल अपेक्षा विपरीत कठिन बन्यो। कमजोर मानिएको किर्गिज टोलीले नेपाललाई पटक९पटक रोक्न सफल भयो। नेपालले विपक्षी माथि निरन्तर दबाब दिए पनि फिनिसिङमा समस्या देखियो।
‘खेल जित्यौँ, तर प्रदर्शन सन्तोषजनक भएन,’ तामाङले थपे। ‘पहिलो हाफपछि रणनीति परिवर्तन गर्यौँ, तर खेलाडीहरूले बुझ्न सकेनन्।’
नेपालले खेलको दोस्रो हाफमा डिफेन्डर हटाएर ३–४–३ को आक्रमण शैली अपनायो, जसमा फ्रान्सबाट फर्किएकी स्टार खेलाडी सावित्रा भण्डारी मैदान प्रवेश गरिन्। उनको उपस्थितिले टिमको मनोबल बढाए पनि उनले प्रभावशाली प्रदर्शन दिन सकिनन्।
गोलका अवसर तर फिनिसिङ कमजोर
नेपालले खेलभरि थुप्रै अवसर सिर्जना गरे पनि फिनिसिङमा चुक्यो। पहिलो हाफको अन्त्यमा रश्मि घिसिङको प्रहार बारमा लागेर फर्किएको थियो। रिबाउन्डमा सविता रानामगरको प्रहार पनि बारमा लाग्दा नेपालले सुनौलो मौका गुमायो।
‘हामीले गोल गर्ने अवसर पाएर पनि चुक्यौँ,’ तामाङले स्वीकारे। ‘फिनिसिङमा अझै सुधार गर्नुपर्छ।’
सावित्रा भण्डारीले दोस्रो हाफमा केहि अवसर पाइन, तर उनको शटहरू पोस्टको बाहिर गएका थिए। ६४औं मिनेटमा सविता रानामगरको क्रसमा उनले हेड गर्ने प्रयास गरिन्, तर सही सम्पर्क हुन सकेन।
अबको चुनौतीः लेबनान
नेपालले प्रतियोगितामा अर्को खेल बिहीबार लेबनानसँग खेल्नेछ। ‘अबका खेलहरू जित्न सजिलो छैन, तर हामी तयारी गर्छौं,’ प्रशिक्षक तामाङले भने।
नेपालले पहिलो जित निकाले पनि बाँकी खेलमा उत्कृष्ट प्रदर्शन गर्न फिनिसिङ सुधार्नुपर्ने देखिएको छ। ‘हामीले आक्रमण राम्रो गर्यौँ, तर फिनिसिङ बलियो बनाउनुपर्छ,’ तामाङले निष्कर्ष निकाले।