“छोरीले २० मिनेट अघि मात्रै फोन गरेकी थिई, खुशी थिई, तर अचानक उनको मृत्युको खबर आयो,“ मृतक प्रकृति लम्सालकी आमाको आँसुमा डुबेको आवाजले सुनिने पीडा यही हो। भारतको ओडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा बी.टेक. तेस्रो वर्ष अध्ययनरत २१ वर्षीया प्रकृति आइतबार साँझ होस्टलमा मृत अवस्थामा फेला परेपछि उनको परिवार मात्र होइन, सिंगो भैरहवा शोकमा छ । प्रकृतिको मृत्युपछि घटनाबारे विभिन्न कोणबाट अनुसन्धान भइरहे पनि उनलाई मानसिक तनाव (ह्यारेसमेन्ट) दिइएको कारणले मृत्यु भएको परिवारले आशंका गरेको छ । उनका मामा शिव पोखरेलका अनुसार कोलकाताका एडविक श्रीवास्तवले लामो समयदेखि प्रकृतिलाई मानसिक दबाब दिइरहेका थिए, जसका कारण उनको मृत्यु रहस्यमय देखिएको छ।
२० मिनेट अघि फोनमा खुशी, त्यसपछि मृत्युको खबर
घटनाभन्दा केही समय अघि मात्रै प्रकृतिले आमा सरितासँग फोनमा कुराकानी गर्दै आफू कन्सर्टमा गएको र खुशी भएको बताएकी थिइन्। २० मिनेटपछि भने उनको मृत्युको खबरले परिवारमा बज्रपात आयो। आमाले छोरीको मृत्यु सुन्नासाथ बेहोस भइन्, बुबा सुनिल तुरुन्तै घटनास्थलतर्फ लागे।
“कसरी अचानक यस्तो भयो? छोरी त सामान्य अवस्थामा थिई, कसैले जबर्जस्ती केही ग¥यो कि?“ परिवारले घटनाबारे शंका व्यक्त गरिरहेको छ।
हजारौं नेपाली विद्यार्थीमाथि अपमान, प्रशासनको ज्यादती
प्रकृतिको मृत्युपछि विश्वविद्यालय प्रशासनको भूमिकालाई लिएर विद्यार्थीहरू आक्रोशित छन्। विश्वविद्यालयका अधिकारीहरूले “भारतले ४० हजार नेपालीलाई निःशुल्क पढाइरहेको छ“ भन्दै नेपाली विद्यार्थीलाई अपमान गरेको नेपाली विद्यार्थीहरूले आरोप लगाएका छन्।
“प्रकृतिको ज्यान मात्रै गुमेन, यहाँ पढिरहेका सयौं नेपाली विद्यार्थीमाथि अन्याय भइरहेको छ,“ पोखरेलले भने।
घटनाको विरोधमा नेपाली विद्यार्थीहरूले प्रदर्शन गरेपछि विश्वविद्यालय प्रशासनले तनाव सृजना भएको भन्दै नेपाली विद्यार्थीहरूलाई होस्टल खाली गर्न आदेश दियो। पछि नयाँ दिल्लीस्थित नेपाली दूतावासको हस्तक्षेपपछि मात्र विद्यार्थीहरू पुनः होस्टल फर्कन पाएका छन्।
प्रकृतिले पहिल्यै उजुरी दिएकी थिइन्, प्रशासन मौन
भारतको प्रहरीका अनुसार ह्यारेसमेन्टको आरोपमा एडविक श्रीवास्तव पक्राउ परिसकेका छन्। तर, आश्चर्यजनक कुरा के छ भने प्रकृतिले यसअघि पनि विश्वविद्यालय प्रशासनलाई श्रीवास्तवविरुद्ध उजुरी दिएकी थिइन्। तर, प्रशासनले कुनै कारबाही गरेन।
नेपाल सरकारलाई घटनाको गम्भीर छानबिन गर्न माग गर्दै भैरहवा, काठमाडौं, पोखरा लगायतका ठाउँमा विरोध प्रदर्शनहरू भएका छन्। नेपाली विद्यार्थीहरूले भारतीय दूतावास अगाडि प्रदर्शन गर्दै मृतकको न्यायको माग गरेका छन्।
नेपाल सरकारको भूमिका कमजोर ?
नेपाली दूतावासले विश्वविद्यालयका प्रतिनिधिहरूसँग कुरा गरी विद्यार्थीहरूको सुरक्षाका लागि पहल गरेको जनाएको छ। साथै, भारतको केन्द्र सरकार तथा ओडिसा राज्य सरकारसँग सम्पर्क भइरहेको विज्ञप्तिमा उल्लेख गरिएको छ। तर, पीडित परिवार र नेपाली विद्यार्थीहरूले भने नेपाल सरकारको भूमिका कमजोर भएको गुनासो गरेका छन्।
“सरकारले एउटा विज्ञप्ति निकालेर मात्र पुग्दैन, प्रधानमन्त्री तहबाटै हस्तक्षेप गरेर न्याय सुनिश्चित गर्नुपर्छ,“ मृतकका आफन्तले माग गरेका छन्।
नेपाल सरकारले भारतीय अधिकारीहरूसँग उच्चस्तरीय वार्ता गरी न्याय सुनिश्चित गर्नुपर्ने, दोषीलाई कडा कारबाही गरिनुपर्ने र नेपाली विद्यार्थीहरूको सुरक्षा प्रत्याभूत गरिनुपर्ने माग विभिन्न क्षेत्रबाट उठिरहेको छ।
अबको मुख्य प्रश्न छ— प्रकृतिलाई न्याय मिल्छ कि मिल्दैन? नेपाली विद्यार्थीहरूको भविष्य सुरक्षित राख्न नेपाल सरकारले कस्तो भूमिका खेल्छ? यो घटनाले नेपाल–भारत सम्बन्धमा कस्तो असर पार्नेछ? यी सबै प्रश्नहरू अझै अनुत्तरित छन्।