भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु प्रकरणमा पक्राउ परेका अड्विक श्रीवास्तवको मोबाइल प्रहरीले अनुसन्धानका लागि जफत गरेको छ।
भुवनेश्वर प्रहरीले आत्महत्या गर्न उक्साएको आरोपमा पक्राउ परेका श्रीवास्तवलाई न्यायिक हिरासतमा राखिएको जानकारी दिएको छ। अनुसन्धानलाई थप प्रमाणसहित अघि बढाउनका लागि सोमबारदेखि उनको मोबाइल जफत गरिएको छ।
डिजिटल प्रमाण संकलनमा प्रहरी
यस घटनाको विस्तृत छानबिनका लागि प्रहरीले मृतक लम्सालको मोबाइल, ल्यापटप र एउटा डायरीसमेत बरामद गरेको छ। डिजिटल फरेन्सिक परीक्षणमार्फत अनुसन्धान अघि बढाइने बताइएको छ। यसबाट लम्सालले भोगेको मानसिक तनाव, सम्बन्धित व्यक्ति वा संस्थाहरूसँग भएको कुराकानी तथा अन्य प्रमाणहरू संकलन गर्ने प्रयास भइरहेको छ।
भाग्ने क्रममा विमानस्थलबाट पक्राउ
२० वर्षीया प्रकृति लम्साल आइतबार अपराह्न होस्टलमा मृत अवस्थामा फेला परेकी थिइन्। प्रारम्भिक अनुसन्धान अनुसार, घटनापछि आरोपी अड्विक श्रीवास्तव कोलकाता भाग्न खोजेका थिए। तर, व्यापक दबाबबीच उनलाई विमानस्थलबाटै पक्राउ गरिएको थियो। उनी केआईआईटीमै बि-टेक (मेकानिकल) तेस्रो वर्षमा अध्ययनरत विद्यार्थी हुन्।
आन्दोलन र राजनीतिक चासो
प्रकृतिलाई न्याय दिलाउने माग गर्दै नेपाली विद्यार्थीहरूले विरोध प्रदर्शन गरेका थिए। तर, कलेज प्रशासनले प्रदर्शनलाई दबाउन सुरक्षाकर्मी परिचालन गरेर बल प्रयोग गरेपछि प्रकरणले अन्तर्राष्ट्रिय रूपमा चर्चा पाएको छ।
नेपालको प्रतिनिधिसभादेखि ओडिसाको विधानसभासम्म यो घटना प्रवेश गरिसकेको छ। ओडिसाका सांसदहरूले कलेज प्रशासनको लापरबाहीका कारण अन्तर्राष्ट्रिय स्तरमै राज्यको बदनाम भएको टिप्पणी गरेका छन्। नेपाली विद्यार्थीमाथि भएको दुर्व्यवहार, मृत्युपछि देखिएको उदासीनता तथा प्रशासनको कडा हस्तक्षेपका कारण घटना अझ गम्भीर बनेको छ।
यसैबीच, नेपाल सरकारले भारतीय पक्षसँग घटनाको निष्पक्ष छानबिन तथा नेपाली विद्यार्थीहरूको सुरक्षाको प्रत्याभूति दिन आग्रह गरेको छ।