पाकिस्तानमा आजदेखि नवौं संस्करणको आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेट सुरू हुँदै छ। ‘मिनी विश्वकप’ भनेर चिनिने यो प्रतियोगिता आठ वर्षपछि आयोजना हुन लागेको हो। प्रतियोगितामा विश्वका आठ उत्कृष्ट टोलीहरू प्रतिस्पर्धा गर्नेछन्।
सहभागी टोली र समूह विभाजन
च्याम्पियन्स ट्रफीमा आयोजक पाकिस्तानसहित भारत, अस्ट्रेलिया, न्युजिल्याण्ड, दक्षिण अफ्रिका, इंग्ल्याण्ड, बंगलादेश र अफगानिस्तान गरी आठ टोली सहभागी छन्।
दुई समूहमा विभाजन गरिएको यस प्रतियोगितामा समूह ‘ए’ मा भारत, पाकिस्तान, न्युजिल्याण्ड र बंगलादेश रहेका छन् भने समूह ‘बी’ मा अस्ट्रेलिया, दक्षिण अफ्रिका, इंग्ल्याण्ड र अफगानिस्तान छन्।
समूह चरणमा सिंगल राउण्ड रोबिन प्रारुपअनुसार प्रत्येक टोलीले तीन-तीन खेल खेल्नेछन्। हरेक समूहबाट शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्।
उद्घाटन खेल : पाकिस्तान बनाम न्युजिल्याण्ड
प्रतियोगिताको उद्घाटन खेल आज आयोजक तथा साविक विजेता पाकिस्तान र न्युजिल्याण्डबीच हुनेछ। खेल कराँचीस्थित नेशनल स्टेडियममा दिउँसो २:४५ बजे सुरू हुनेछ।
च्याम्पियन्स ट्रफीको इतिहास
आईसीसी च्याम्पियन्स ट्रफीको पछिल्लो संस्करण सन् २०१७ मा इंग्ल्याण्डमा आयोजना भएको थियो, जहाँ पाकिस्तानले फाइनलमा भारतलाई पराजित गर्दै उपाधि जितेको थियो। त्यसअघि सन् २०१३ मा भारत, सन् २००९ र २००६ मा अस्ट्रेलिया च्याम्पियन बनेका थिए।
सन् २००२ मा भारत र श्रीलंकाले संयुक्त रूपमा उपाधि बाँडेका थिए। पहिलो संस्करण सन् १९९८ मा आईसीसी नकआउट ट्रफीका रूपमा सुरू भएको थियो, जसमा दक्षिण अफ्रिकाले उपाधि जितेको थियो। त्यसपछि सन् २००० मा न्युजिल्याण्डले उपाधि जितेको थियो।