भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) को छात्रावासमा मृत भेटिएकी नेपाली विद्यार्थी प्रकृति लम्सालको शव आज नेपाल ल्याइँदैछ। उनका आफन्तका अनुसार नेपाल ल्याउनका लागि भारतीय प्रशासन, सुरक्षाकर्मी, कलेज प्रशासन र नेपालस्थित भारतीय दूतावाससँग समन्वय भइरहेको छ।
न्यायको माग गर्दै विरोध प्रदर्शन
२० वर्षीया प्रकृति गत आइतबार छात्रावासको कोठामा मृत भेटिएकी थिइन्। उनको मृत्यु शङ्कास्पद भएकाले विद्यार्थीहरूले घटनाको निष्पक्ष छानबिनको माग गर्दै प्रदर्शन गरेका थिए। तर, विश्वविद्यालय प्रशासनले विद्यार्थीहरूको आन्दोलन दबाउने प्रयास गरेको आरोप लागेको छ।
विरोध चर्किएपछि विश्वविद्यालयले केही कर्मचारीलाई बर्खास्त तथा निलम्बन गरेको छ भने नेपाली विद्यार्थीलाई धम्क्याएको आरोप लागेकी प्राध्यापक मञ्जुशा पाण्डेले सार्वजनिक रूपमा माफी मागेकी छिन्।
संसद र सरकारले चासो देखाए
प्रकृतिको मृत्युबारे ओडिसाको विधानसभामा समेत प्रश्न उठेपछि राज्य सरकारले उच्चस्तरीय छानबिन समिति गठन गरेको छ। प्रहरीले घटनामा संलग्न रहेको आरोप लागेका अड्विक श्रीवास्तवलाई पक्राउ गरी न्यायिक हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ। श्रीवास्तवले प्रकृतिलाई पटक–पटक ब्ल्याकमेल गरेको प्रमाणसहित उजुरी दिइए पनि कलेज प्रशासनले बेवास्ता गरेको भन्दै आलोचना भइरहेको छ।
नेपाली विद्यार्थीहरू त्रसित, घर फर्कने क्रम जारी
प्रकृतिको मृत्युपछि ओडिसास्थित नेपाली विद्यार्थीहरू असुरक्षित महसुस गरिरहेका छन्। विश्वविद्यालय प्रशासनले करिब १,५०० नेपाली विद्यार्थीलाई कलेज छोड्न निर्देशन दिएपछि अधिकांश विद्यार्थी नेपाल फर्किसकेका छन्। घटनाले नेपाल र भारत दुवैतर्फ व्यापक चर्चा पाएको छ भने नेपालमा समेत संसदमा यो विषय उठेको छ।
अब अनुसन्धानले घटनाको वास्तविकता उजागर गर्ने अपेक्षा गरिएको छ भने मृतक प्रकृतिलाई न्याय दिलाउन नेपाली समुदायले निरन्तर आवाज उठाइरहेका छन्।