इन्टरनेशनल वुमन्स च्याम्पियनसिप अन्तर्गत नेपालले आज आफ्नो दोस्रो खेलमा लेबनानसँग प्रतिस्पर्धा गर्दैछ। खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ६ बजे सुरु हुनेछ।
त्यसअघि दिउँसो २ बजे पहिलो खेलमा म्यानमार र कीर्गिस्तान आमनेसामने हुनेछन्। चारै टोलीको यो दोस्रो खेल हुनेछ। पहिलो खेलमा म्यानमारले लेबनानलाई ३-१ ले हराएको थियो भने नेपालले कीर्गिस्तानलाई १-० को झिनो अन्तरले पराजित गरेको थियो।
नेपालले लगातार दोस्रो जित निकाल्दै फाइनलमा प्रवेश गर्ने लक्ष्य लिएको छ। यदि नेपालले आजको खेल जितेमा, अन्तिम खेलअघि नै सेमिफाइनल यात्रा तय गर्नेछ।
नेपालका मुख्य प्रशिक्षक राजेन्द्र तामाङ ले टोलीलाई जित निकाल्ने रणनीतिमा खेलाउने बताएका छन्। हाल प्रतियोगितामा रहेका चार टोलीमध्ये वरियतामा लेबनान सबैभन्दा कमजोर टोली हो। कीर्गिस्तान पनि तुलनात्मक रूपमा कमजोर मानिए पनि पहिलो खेलमा उसले बलियो चुनौती प्रस्तुत गरेको थियो।
कीर्गिस्तानविरुद्ध विमला चौधरीको एक मात्र गोल निर्णायक बनेपछि नेपालले तीन अंक जोड्न सफल भए तापनि फरवार्ड खेलाडीहरूले फिनिसिङमा चुक्न पुगेका थिए। पहिलो खेलको कमजोरीलाई सुधार गर्दै नेपाल आज राम्रो प्रदर्शन गर्ने लक्ष्यमा छ।
लेबनानले नयाँ खेलाडी उतार्ने सम्भावना
लेबनानका प्रशिक्षक वेल घार्जेदिन ले पहिलो खेलमा म्यानमारसँग पराजय भोगेपछि नेपालविरुद्ध केही परिवर्तन गर्ने संकेत गरेका छन्। सोमबार मात्र विदेशी लिग खेलेर काठमाडौं आएका लेबनानका तीन खेलाडी पहिलो खेलमा मैदानमा देखिएनन्, तर उनीहरू आज खेल्ने सम्भावना छ।
नेपाल र लेबनानबीच दोस्रो भेट
नेपाल र लेबनान यसअघि एक मात्र पटक भिडेका थिए। २०२३ फेब्रुअरीमा साउदीमा आयोजित वाफ च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले लेबनानलाई २-१ ले हराउँदै फाइनल यात्रा तय गरेको थियो।
उक्त खेलमा पुजा रानाको आत्मघाती गोल मार्फत लेबनानले अग्रता लिएको थियो। तर, नेपालले पुनरागमन गर्दै ७६औं मिनेटमा सावित्रा भण्डारीको गोलमार्फत बराबरी गरेको थियो भने इन्जुरी टाइममा प्रिती राईको गोल निर्णायक बनेको थियो।
नेपालले आजको खेल जित्दै सेमिफाइनल यात्रा पक्का गर्न र उपाधि होड बलियो बनाउन प्रयास गर्नेछ।