भारतको कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) ले कलेजमै ज्यान गुमाएकी नेपाली विद्यार्थी स्वर्गीय प्रकृति लम्सालको नाममा छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेको छ।
युनिभर्सिटीले सामाजिक सञ्जाल एक्समार्फत उक्त निर्णय सार्वजनिक गर्दै, नेपाली विद्यार्थीहरूलाई शिक्षा अघि बढाउन सहज होस् भन्ने उद्देश्यले छात्रवृत्ति दिने बताएको छ। ‘यो कदमले प्रकृति जस्तै होनहार विद्यार्थीहरूलाई कुनै अवरोध बिना शिक्षा प्राप्त गर्न सहयोग गर्नेछ,’ विश्वविद्यालयको विज्ञप्तिमा उल्लेख छ।
नेपाली दूतावाससँग छलफल
युनिभर्सिटीका सञ्चालक प्रा. अच्युदानन्द सामन्तले नयाँ दिल्लीस्थित नेपाली दूतावासका कन्सुलर सञ्जीव शर्मा दास र नवीन अधिकारीसँग भेट गरी, प्रकृतिलाई न्याय दिलाउने विषयमा छलफल गरेका थिए। उक्त भेटमा विश्वविद्यालय प्रशासनले नेपाल सरकारसँगको सहकार्यमा पीडित परिवारलाई न्याय दिलाउन आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरेको बताइएको छ।
प्रकृति लम्सालको मृत्यु र प्रशासनको लापरबाही
२० वर्षीया नेपाली विद्यार्थी प्रकृति लम्साल आइतबार अपराह्न होस्टलको कोठामा मृत अवस्थामा फेला परेकी थिइन्। उनले सोही कलेजका एक विद्यार्थीबाट मानसिक यातना खेपिरहेको भन्दै अन्तर्राष्ट्रिय सम्बन्ध विभाग (आईआरओ) मा दुई पटक उजुरी दिएकी थिइन्। तर, कलेज प्रशासनले उनको गुनासोलाई गम्भीर रूपमा नलिएको खुलेको छ।
प्रकृतिको मृत्यु भएपछि विद्यार्थीहरूले न्यायको माग गर्दै प्रदर्शन गरेका थिए। तर, कलेज प्रशासनले आन्दोलनलाई दबाउन खोजेको आरोप लागेको छ। कलेजका सुरक्षागार्ड र बाउन्सरहरूले प्रदर्शनकारी विद्यार्थीलाई कुटपिट गरेको तथा लखेटेको भिडियोहरू सामाजिक सञ्जालमा भाइरल भएका छन्।
घटनापछि कलेजमा तनाव बढेपछि कम्तीमा १११ जना नेपाली विद्यार्थीहरू भारत–नेपाल सीमा हुँदै स्वदेश फर्किएका छन्। विश्वविद्यालय प्रशासनले नेपाली विद्यार्थीका अभिभावकहरूलाई इमेल पठाएर आफ्ना सन्तानलाई फिर्ता लैजान अनुरोध समेत गरेको छ।